नवलपरासीको शिवमन्दिर– २ निवासी विश्वास पौडेलले शनिबार राति आफ्नै श्रीमती पार्वती पौडेलको विभत्स हत्या गरेका छन् ।
हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै स्थानीय महिलाहरुले आइतबार करिब ३ घण्टा घटनास्थल अगाडिको मुख्य राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गरे । श्रीमतीको हत्याको अभियोगमा विश्वासलाई गए राति नै पक्राउ गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
शिबमन्दिर गाविस– २ का विश्वास पौडेलले गएराति १ बजे आफैं सँगै सुतिरहेकी २७ वर्षीया श्रीमती पार्वती पौडेलको सिलौटाले टाउकोमा थिचेर निर्मम ढंगले हत्या गरेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
राति १ बजेको समयमा श्रीमती सुतिरहेको अवस्थामा विभत्स हत्या गरी प्रहरीमा गिरफ्तारी दिने पौडेललाई कडा कारबाही माग गर्दै स्थानीय महिलाहरूले पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि चक्काजाम गरी सडक अबरुद्ध पारेका छन् ।
श्रीमती हत्या गरी गिरफ्तारी दिने पौडेललाई प्रहरीले ज्यान मार्ने उद्योगमा कारबाही अगाडि बढाउने जनाएको छ ।
घटनासँगै आइतबार अपरान्ह प्रहरीले पोष्टमार्टमका लागि मृतक महिलाको शव उठाउने क्रममा स्थानीय महिला र प्रहरीबीच झडपसमेत भएको थियो । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक विमल बस्नेतले बताए । झडपका क्रममा भागदौड मच्चिँदा स्थानीय दुई महिला घाइते भएका छन् ।
प्रहरीका अनुसार भागदौडमा परी कावासोती– ५ निवासी ६० वर्षीय पार्वती देवकोटाको खुट्टा भाँचिएको छ भने अर्की एक महिलाको टाउकोमा चोट लागेको छ ।