अपडेट
संवैधानिक परिषद्को बैठकले आइतबार अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को करिब दुई घन्टा लामो बैठक सकेर बाहिरिएका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले संवाददाताहरुलाई भने, ‘सबै कुरा मिलेर बैठक सकियो ।’
उक्त निर्णयअनुसार लोकसेवामा कयोदेवी यमी र महालेखा परीषकमा भानुप्रसाद आचार्यको सिफारिस गरिएको छ । परिषद्को सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रले अख्तियारमा कार्कीको सिफारिस गरेदेखि नै यसप्रति राष्ट्रपतिले असन्तोष व्यक्त गर्दै आएका थिए ।
शर्माबाहेक परिषद्का अन्य सदस्य बैठकस्थलमै माइन्युटिङ गर्न बसिरहेका छन् ।
अपडेट १
संवैधानिक परिषद् बैठक चलिरहेकै बेला बोलाइएका सबै मन्त्रीहरु केही बेरमै बाहिरिएका छन् । बैठक स्रोतका अनुसार संवैधानिक परिषद् बैठकलाई केही बेर स्थगन गरेर गणतन्त्र दिवस आयोजना मूल समारोह समितिको बैठक बसेको थियो । अहिले संवैधानिक परिषद्को बैठक फेरि सुचारु भएको छ ।
लोकमानबारे संवैधानिक परिषद् सुरु
काठमाडौं, वैशाख २२ (सेतोपाटी)– पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने एजेन्डासहित संवैधानिक निकायमा पदाधिकारी सिफारिसको लागि अहिले संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । अहिले बसिरहेको परिषद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्तका लागि कार्कीलाई सिफारिस गर्नेसहित बाँकी तीन संवैधानिक निकायमा पदाधिकारी सिफारिसका लागि बसिरहेको छ ।
अहिले १:३० मा सुरु भएको संवैधानिक परिषद्ले ६ वर्षदेखि रिक्त रहेका संवैधानिक निकायहरु अख्तियार, महालेखा परीक्षक, लोकसेवा आयोगमा नियुक्ति सिफारिस गर्ने बताइएको छ । यसअघि बाधा अड्काउ फुकाउबाट संवैधानिक परिषद्ले निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
परिषद् बैठकमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, तथा तीनमन्त्रीहरु माधव पौडेल, माधव घिमिरे मल्लिक र रिद्दीबाबा प्रधान छन् । बैठक चलेको केही बेरमै सबै मन्त्रीहरु पनि डाकिएका छन् । अर्थमन्त्री शंकर कोइराला भने विदेश भ्रमणमा रहेकाले बैठकमा अनुपस्थित छन् ।
संवैधानिक निकायहरुमा नियुक्तिका लागि भने मन्त्रीहरुको सिफारिस चाहिँदैन । संवैधानिक परिषद्को निर्णय नै अन्तिम हुन्छ ।