सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको गुनासो बढे पनि झापाको दमकस्थित एक विद्यालयले नयाँ विद्यार्थी थेग्नै नसक्ने भएको छ ।
भर्ना अघि प्रवेश परीक्षा 'इन्ट्रान्स नैं गर्नु परेको छ।
दमक २ स्थित हिमालय उच्चमाविमा नयाँ भर्ना हुने विद्यार्थीको चाप थेग्न नसकेपछि भर्ना अगाडि नै प्रवेश परीक्षा लिनु परेको विद्यालयले जनाएको छ।
कक्षा १ देखि ५ तथा ९ कक्षामा खुलाईएको नयाँ भर्नामा निजी वोर्डीङ् स्कुलहरुबाट विद्यार्थीहरु आउने चाप थेग्न नसकेपछि प्रवेश परीक्षा लिएको विद्यालयका सहप्राचार्य डिल्लिरमण पौडेलले बताए।
उनले भने–'हामीले प्रत्येक कक्षामा ५० भन्दा बढि विद्यार्थी राख्ने गरेका छैनौं, बढि भएमा सेक्सन ब्रेक गर्छौ, यति गर्दा समेत विद्यार्थीहरु आउने क्रम रोकिएको छैन।'
अंग्रेजी माध्यमबाट नर्सरी, एलकेजी तथा युकेजी सहित ५ कक्षा सम्म पठनपाठन सुरु गरिएपछि निजी विद्यालयबाट विद्यार्थीहरु आउने क्रम बढेको विद्यालयका अंग्रेजी कार्यक्रम संयोजक सन्तोस दहालले बताए ।
उनले विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागी सवैजसो विद्यार्थीहरु निजी विद्यालयबाट आएको बताए । 'कक्षा उतिर्ण हुँदै गएका विद्यार्थीहरुले नै प्राय कोटा भरिने गरेको छ' उनले भने–'तर यस वर्ष कक्षा १ देखि ५ सम्म र ९ कक्षामा लागि खुलाईएको भर्नामा स्थानीय बोर्डीङ्हरुबाट समेत विद्यार्थीहरु आउने क्रम बढे पछि ईन्ट्रान्स लिईएको हो।'
२०१२ सालमा स्थापित यस विद्यालयले ५ वर्ष अघि कक्षा १ बाट अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको हो। वर्षेनी १ कक्षा थप गरि १० वर्षमा माध्यमिक तहका सवै कक्षा अंग्रेजी माध्यमबाट सञ्चालन गरिने विद्यालयले जनाएको छ। प्राचार्य विदुर खतिवडाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कियो भनेर सरकारलाई गाली गर्नु भन्दा शिक्षकहरुले प्रयास गरे निजी विद्यालयहरुको भन्दा गुणस्तरीय शिक्षा दिन सकिने बताए। 'अभिभावकहरुलाई पनि दोष दिएर हुँदैन, धेरै जसो अभिभावक अशिक्षित नैं छन्, तर हामीले राम्रो गर्न खोज्यौं भने उनीहरुले पनि साथ पक्कै दिने छन्'–उनको भनाई छ। अंग्रेजी माध्यम र आधुनिक ढंगबाट पठन पाठन शुरु गरिएपछि जिल्लामै सम्भवत : सामुदायिक विद्यालयमा पहिलो पटक विद्यार्थी भर्ना हुनु अघि प्रवेश परीक्षा लिईएको विद्यालयको भनाई छ।
विद्यालयले ३ वर्ष अघिबाट विद्यार्थी आकर्षित पार्न वोर्डीङ् स्कुलकै शैलीमा नर्सरी, एलकेजी र युकेजी समेत शुरु गरेको छ। पाँच वर्ष अघिदेखि कक्षा १ बाट अंग्रेजी माध्यम शुरु भएको हो । गत शैक्षिक शत्रमा विद्यालयमा अंग्रेजी माध्यममा ४ सय ८२ विद्यार्थी सहभागी थिए।
जिल्ला शिक्षा कार्यालयले भने अन्य कुनै पनि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुनु अघि प्रवेश परीक्षा लिएको थाह नभएको जनाएको छ। उनले भने–सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उक्सिएको यस्ता कार्यहरुले पनि पुष्टि गरेका छन्, तर प्रवेश परीक्षानैं लिईएको भन्ने चाहि थाह भएको छैन।'