सुरक्षाकर्मीले एक ठाउँमा उभिनसमेत नदिएपछि अधिकारकर्मीहरूले आइतबार सिंहदरबारको दक्षिण ढोकाअगाडि ओहोर दोहोर गरेरै लोकमानसिंह कार्की नियुक्तिको विरोध जनाएका छन् ।
कार्कीको नियुक्तिबारे संवैधानिक परिषद्ले निर्णय लिनुअघि अधिकारकर्मीले विरोध कार्यक्रम तोकेका थिए । त्यसैअनुसार सहभागीहरु बिहान १० बजे पुग्दा सिंहदरबार दक्षिण ढोकामा बलियो प्रहरी सुरक्षा उभ्याइएको थियो भने थप एक ट्रक प्रहरी परिचालन गरेर उनीहरूलाई जम्मा हुन लागेको स्थानबाट अन्यत्र हटाएका थिए । करिब आधा घन्टासम्म ढोकाको सामुन्ने ओहोर दोहोर गरेरै उनीहरु विरोध प्रदर्शन गर्न बाध्य भए । त्यस क्रममा समाचार संकलनका निम्ति आएका टेलिभिजनकर्मीहरुलाई विरोधकर्ताहरुसँग अन्तर्वार्ता लिन समेत प्रहरीले रोक लगाएका थिए ।
‘लोकमानसिंह कार्की एक त अख्तियारले समेत कुनै पद दिन नमिल्ने भनेर तोकेको व्यक्ति हुन् भने अर्कातर्फ लोकतान्त्रिक आन्दोलनका दमनकर्ता हुन्,’ विरोधमा सहभागी मानवअधिकारकर्मी कनकमणि दीक्षितले भने, ‘तिनै व्यक्तिलाई स्वयं अख्तियारको प्रमुख बनाउने काम हाम्रोनिम्ति पूर्णतः अमान्य छ ।’
मुलुकमा हजारौ सक्षम व्यक्ति हुँदाहुँदै जसलाई प्रधानमन्त्री बनाउनु हुँदैन भनिएको छ उसैलाई प्रधानमन्त्री र जसलाई अख्तियार प्रमुख बनाउनु हुँदैन उसैलाई प्रमुख बनाउने कामबाट विधिको शासनलाई क्षतविक्षत पार्ने नियोजित षड्यन्त्र हुन थालेको उनले उल्लेख गरे । शिर्षस्थ नेताहरुले यस्तो अवस्थामा देशलाई पु¥याएका बेला नागरिक अगुवा भनिएका बहुसंख्यक व्यक्तिहरु चुपो लाग्नुले पनि परिस्थिति जटिल बनाएको उनले बताए ।
तस्बिर- गिरीश गिरी