नेकपा–माओवादीका केन्द्रीय सदस्य उदय चलाउनेको टोलीले चुरे भावर राष्ट्रिय लोकतान्त्रिक एकता पार्टीका अध्यक्ष भूमिराज निरौलालाई अपहरण गरी पार्टी कार्यालय बुद्धनगरमै बन्धक बनाएको खुलेको छ । पूर्व प्रहरी महानिरीक्षक सनत बस्नेत जोडिएको जग्गा मुद्दालाई लिएर उनलाई गत बिहीबार थापाथलीबाट जबर्जस्ती गाडीमा राखी एक घन्टा बन्धक बनाएको आजको नागरिकमा खबर छ ।
निरौलाका तर्फबाट केन्द्रीय सदस्य हरिबहादुर दाहाल र नवराज थापामगरले शुक्रबार पूर्व आइजी बस्नेत, चलाउने र पवनकुमार उपाध्यायलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय, ललितपुरमा लिखित उजुरी दिएको थाहा भएको छ । ‘पार्टी अध्यक्षको अपहरण गर्ने उपर आवाश्यक कारबाही गरी पाऊ’ भन्दै दाहाल र मगरले उजुरी दिएका हुन् ।
‘घटनाको भोलिपल्टै म स्वयं उपस्थित भएर जावालाखेलमा उजुरी दिएको हुँ, कारबाही बढ्यो–बढेन केही खबर पाइएको छैन,’ मगरले नागरिकसँग भने । अपहरणपछि निरौलाले बस्नेत र चलाउनेविरुद्धमा पुनरावेदन अदालत, पाटनमा पनि जाहेरी दिएका छन् । निरौलाका अनुसार सर्वोच्च अदालत बारका सचिव तथा अधिवक्ता एकराज पोखरेलले उनको मुद्दा हेरिरहेका छन् ।
इटहरी–३ ‘च’ मा रहेको १ बिघा १८ कट्ठा जग्गाको मुद्दालाई लिएर गत वैशाख १२ गते दिउसो १२ बजे बस्नेतको निर्देशनमा माओवादी केन्द्रीय सदस्यसमेत रहेका चलाउनेले अपहरण गरेको निरौलाको आरोप छ । ‘उदय चलाउनेलगायत ९/१० जनाको समूहले थापाथलीबाट जबर्जस्ती गाडीभित्र हालेर बुद्धनगर पार्टी कार्यालयमा लगेर केरकार गरे’, उनले नागरिकसँग भने, ‘सुरुमै हामी सबैको मोबाइल कब्जामा लिएपछि ‘स्विच अफ’ गरी गाडीमा हालेर मुख थुने, बोलिस् भने जे पनि हुनसक्छ भनेर धम्काए । तै पनि मैले गुहारगुहार भनी दुई पटक कराएँ ।’ गाडीको सबै सिसा बन्द गरिएको र मार्ने धम्की दिएकाले आपूm चुप लाग्न बाध्य भएको निरौलाले जनाए ।
उनका अनुसार केन्द्रीय कार्यालयमा राखेर चलाउनेले बस्नेतसँगको मुद्दा फिर्ता लिनुपर्ने भन्दै चर्को दबाब दिए । ‘सनत बस्नेतसँगको मुद्दा फिर्ता लिन्छस् कि लिँदैनन, लिइनस् भने तलाई झुट्ठा मुद्दा लगाएर भए पनि फसाइदिन्छु भन्दै नराम्रोसँग धम्काए,’ निरौलाले भने, ‘मैलेचाहिँ तपाई अड्डा÷अदालत हो र ? तपाईहरू राज्यको कुन इकाई हो ? भन्दै प्रतिवाद गरेँ तर सुन्दै सुनेनन्, एकोहोरो दबाब दिइरहे ।’
चलाउनले ‘बन्दुक र पेस्तोल निकाल्ने’ धम्की पटकपटक दिएको निरौलाले बताए ।
बुद्धनगरबाटै चलाउनेले दुईपटक पूर्व महानिरीक्षक बस्नेतको मोबाइलमा फोन गरेको र ‘तल्लो कोठामा उनीहरू छन्, बोलाइदिऊ’ भनेर बन्धक भएकै बेला भनेको पनि निरौलाले दाबी गरे ।
चलाउनेको समूहले उठाएर लगेको खबर पाएलगत्तै प्रत्यक्षदर्शीको मौखिक उजुरी अनुसार प्रहरीले निरौलाको खोजी सुरु गरेको थियो । ‘प्रहरीले खोजतलास गरेपछि हच्किएका चलाउनेले घटना मिडियामा लगे झुट्ठा मुद्दा लगाएर फसाइदिने धम्की दिँदै अन्ततः मलाई छाडिदिए’ उनले भने ।