जनकपुर, वैशाख १८ (सेतोपाटी)– 'मेरा श्रीमानले केको लागि ज्यान गुमाए मलाई थाहा छैन, तर अब दुई छोराछोरी लिएर म कहाँ जाऊँ, कसरी जिन्दगी बिताऊँ,' सहिद सुरेश उपाध्यायकी श्रीमती सुनयनादेवी भक्कानो छाडेर रुन थालिन्।
मिथिला राज्य संघर्ष समितिको आन्दोलन क्रममा गत वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा बम विष्फोट हुँदा ज्यान गुमाएका उपाध्यायकी श्रीमती सुनयनाले १० वर्षे शारीरिक अपांग छोरालाई देखाउँदै भनिन्, 'यसको भविष्य पूरै अन्धकार भयो।'
उनी सरकारले दिएको १० लाख रुपैयाँबाट जग्गा किनेर एउटा कोठा बनाउने तर्खरमा छिन्।
बम विस्फोटपछि सहिदका छोराछोरीलाई निःशुल्क शिक्षा दिने, परिवारबाट एकजनालाई जागिर मिलाइदिने जस्ता आश्वासन संघर्ष समिति र सरकारी पक्षले दिएका थिए। एक वर्षयता कसैले आफ्नो परिवारको खोजखबर नलिएको सुनयना बताउँछिन्।
त्यही घटनामा ज्यान गुमाएकी मिथिलाञ्चल क्षेत्रकी प्रसिद्ध रंगकर्मी रञ्जु झाका १६ वर्षे छोरा ज्ञानुको पनि यस्तै गुनासो छ।'माँको ज्यान गएपछि संघर्ष समितिका परमेश्वर कापडी र अरु कुनै सदस्यले कहिल्यै सोधखोज गरेको छैन,' उनी भन्छन्। रञ्जु मिथिला नाट्यकला परिषद (मिनाप) मा कलाकार थिइन्।
बम काण्डकै अर्का सहिद विमल शरण राउतका जेठा छोरा रामकुमार राउत सरणले आफ्ना दुई भाइबहिनीको शिक्षादिक्षामा कसैले चासो नदिएको बताए।
सहिद दिपेन्द्र दास कैथवनियाकी श्रीमती अन्नु रानी दासले भनिन्, 'श्रीमानको मृत्युपछि दोषीलाई कारबाही हुन्छ, हामीले न्याय पाउँछौं भनेर आस गरेका थियौं, तर एक वर्षमा कसैबाट पहल भएको थाहा छैन।' स्कुलमा जागिर गरी जसोतसो परिवार चलाइरहेको उनले बताइन्।
सहिद परिवारको यस्तो गुनासो छ, संघर्ष समितिले भने घटना एक वर्ष पूरा भएको दिन पारेर बुधबार श्रद्धान्जलि सभा एवं दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागेको छ। उक्त कार्यक्रमबारे सहिद परिवारलाई कुनै जानकारी दिइएको छैन।'हामीलाई अहिलेसम्म कसैले भेटेको छैन्,' सहिद दिपेन्द्र दासकी आमा र श्रीमतीले भने, 'कार्यक्रमको बारेमा केही थाहा छैन।'
संघर्ष समितिका संयोजक परमेश्वर कापडीले भने सबै सहिद परिवारको घरमा कार्यक्रमबारे जानकारी गराएको दाबी गरे।
बम काण्डका दोषी र योजनाकारको पहिचान भइसके पनि कारबाही भएको छैन। संघर्ष समिति यसमा मौन रहँदै आएकोले अपराधीहरु जोगिन सफल भएको स्थानीयको भनाइ छ।
शान्तिपूर्ण आन्दोलन क्रममा भएको बम विष्फोटको केही दिनपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरिक्षक भुपेन्द्रबहादुर खत्री नेतृत्वको टोली खटिएको थियो। टोलीले पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरुको जानकारी गराएको थियो। मुख्य योजनाकारका रुपमा महोत्तरी, जलेश्वर-११ खैराटोलका २६ वर्षे सन्तोष चौधरी, जनतान्त्रिक तराई मुक्ति मोर्चाका धनुषा, लक्ष्मीपुर बगेबा-७ का ३५ वर्षे राजन मुक्ति भनिने रंजित झाको नाम आएको थियो।
भारतको मुजफ्फरपुरमा एक वर्षअघि गठन भएको तराई विधार्थी लिबरेशन फन्टमा संलग्न धनुषा सपहीका सुरेश कर्ण, महोत्तरी मडहीका बस व्यवसायी रिपेन्द्र झा, भुतही पटेरुवाका मुकेशकुमार कर्ण र सन्तोष तथा रंजितले मिलेर घटनाको योजना बनाएको प्रहरीले जनाएको थियो।
प्रहरीले जनताको आक्रोश थामथुम पार्न खोजे पनि मुख्य योजनाकारका रुपमा सार्वजनिक मुकेश चौधरीसम्म पुग्न सकेको छैन। मुकेशले यो काण्ड आफूले गराएको भनी पटकपटक सञ्चार माध्यममा बयान दिएका छन्। प्रहरी प्रशासन भने मूकदर्शक बनेको छ।
संघर्ष समितिले पनि कुनै प्रकारको दबाबमूलक कार्यक्रम नगरेर घटनाका दोषीहरुकै बचाउ गरिरहेको स्थानीयको आरोप छ।
क्याप्सन- जनकपुर बमकाण्डमा ज्यान गुमाएकी मिथिलाञ्चल क्षेत्रकी प्रसिद्ध रंगकर्मी रञ्जु झाका १६ वर्षे छोरा ज्ञानु । 'माँको ज्यान गएपछि संघर्ष समितिका परमेश्वर कापडी र अरु कुनै सदस्यले कहिल्यै सोधखोज गरेको छैन,' उनी भन्छन्। रञ्जु मिथिला नाट्यकला परिषद (मिनाप) मा कलाकार थिइन्। तस्बिर : मनिका झा