माओवादी अध्यक्ष पुष्पकमल दाहाल बुधबार मे दिवसको कार्यक्रम मनाउन छोरा प्रकाश दाहालसँगै विराटनगर पुगेका छन् । विराटनगर विमानस्थलबाट प्रचण्डका बाबुछोरा इटहरी गएका थिए ।
दोस्रो विवाह गरेपछि पार्टीबाट निलम्बित प्रचण्डका छोरा दाहाल केही दिनअघि एमाओवादीबाट चोखिएका थिए । कान्छी श्रीमती बिना थापामगरसँग केही महिना भारत र नेपालकै विभिन्न ठाउँमा लुकेर बसेका प्रकाश एमाओवादीबाट कारबाही फुकुवा हुनेबित्तिकै प्रचण्ड निवास लाजिम्पाट बस्न थालेका थिए ।
कारबाही फुकुवा भएपछि दाहालले पहिलोपल्ट छोरा प्रकाशलाई सार्वजनिक कार्यक्रममा साथै लिएर गएका हुन् ।
मे दिवसलाई सम्बोधन गर्न एमाओवादी तथा एमालेका शिर्ष नेताहरु इटहरी पुगेका हुन् । इटहरीमा आयोजना हुने सभालाई सम्बोधन गर्न नेता त्यहाँ पुगेका हुन् ।
मजदुर दिवस तथा १ सय २४ औं अन्तर्राष्ट्रिय मे दिवसमा अखिल नेपाल ट्रेड युनियन महासंघ, पेशागत महासंघ नेपाल जिफन्ट, ट्रेड युनियन कांग्रेस स्वतन्त्र लगायतका मजदुर संघ संगठनले सभा र्याली लगायतका विभिन्न कार्यक्रम गरिरहेका छन्।
अमेरिकाको सिकागो सहरमा मजदुहरुले आठ घण्टा काम र आठ घण्टा आरामको नारा सहित गरेको आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो।
क्याप्सन- बुद्ध एयरको जहाजबाट विराटनगर पुगेका एमाओवादी तथा एमालेका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई, वर्षमान पुन, रामचन्द्र झा, हिसिला यमीसँगै दाहाल–पुत्र प्रकाश (रातो बुट्टे सर्टमा) ।
तस्बिर : सञ्जीव खनाल