सभाखोलामाथि पक्की पुल निर्माणसँगै पूर्वी पहाडको भित्री जिल्ला संखुवासभा राष्ट्रिय राजमार्गको सन्जालमा जोडिएको आजको नागरिकमा खबर छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिक र बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री एलेन डंकनले सभाखोलामा निर्मित पुलको संयुक्त उद्घाटन गरे। …विकासका लागि गति' को महत्व राम्ररी बुझेका संखुवासभावासीले जिल्ला कतैबाट पनि राजमार्गको सन्जालमा नजोडिएका बेलामा हेलिकप्टरबाट तुम्लिङटारमा जिप ओरालेर कत्लेभन्ज्याङदेखि खा“दबारीसम्म १४ किलोमिटर धूलेबाटोमा यातायात सन्चालन गरेका थिए। सभाखोलामा पक्की पुल बनेपछि अब संखुवासभामा बिना रोकटोक यातायात सञ्चालन हुनेछ।
कोसी अञ्चलका पूर्वी पहाडमा यातायात सुविधा पुर्याउन बेलायती सहयोगमा लेगुवाघाटमा अरुण नदीमाथि निर्माणाधीन यस्तै अर्को पुल महिना दिनपछि सञ्चालनमा आउनेछ। यसपछि संखुवासभा, खोटाङ, भोजपुर र धनकुटामा निर्माण भएका २८० किलोमिटर कृषि सडक आपसमा जोडिनेछन्।
डिएफआइडीको कृषि सडक कार्यक्रमअन्तर्गत ३० लाख पाउन्ड लागतमा तयार सभाखोला पुल बेलायती स्टिलले बनेको छ। नेपालमा यसप्रकारको यो सबैभन्दा लामो पुल हो। पुलको लम्बाइ १२० मिटर र उचाइ २०.६ मिटर छ। यसको भारवहन क्षमता ५५२ टन छ। बेलायत सरकारले आउँदा चार वर्षमा नेपालमा 'एग्रिकल्चर एक्सेस रोड' को सम्भार, स्तरोन्नति र निर्माणका लागि ३ करोड ६५ लाख पाउन्ड छुट्ट्याइएको छ।
पुलको मुखमा सोमबार दिउँसो आयोजित उद्घाटन समारोहमा मन्त्री मल्लिकले बेलायतले नेपालको पूर्वाधार विकासमा गरेको सहयोगका लागि आभार प्रकट गरे। उनले भने, 'यो पुलले संखुवासभाको मात्र होइन, पूर्वी पहाडका भित्री भागमा आर्थिक विकासका सम्भावनालाई बढाएको छ।'
राज्यमन्त्री डंकनले सभाखोलामा बनेको पुलले अरुण उपत्यकाको एकमात्र विमानस्थल (तुम्लिङटार) र अरुण जलविद्युत आयोजनासँग सयौं किलोमिटर ग्रामीण सडक मार्गलाई जोडने र आर्थिक गतिविधिमा विस्तार आउने विश्वास व्यक्त गरे ।