पति र तेस्री पत्नीबीच पाँच क्विन्टल चाँदी तानातान हुँदा आइतबार मोरङ रंगेलीमा ठूलै तमासा भयो। खोसाखोस गर्दागर्दै चाँदी बाटोभरि छरिएपछि रमितेको भिड नै लाग्यो।
आफूलाई विभिन्न लालच देखाएर ‘तेस्रो' विवाह गरेको भन्दै २० लाख रुपैयाँ दाइजो रकम फिर्ता माग्न आएकी पुनम अग्रवाल र चाँदीका बाकस लुकाउन लैजाँदै गरेका पति अजयबीच बाटैमा तानातान भएको आजको नागरिक दैनिकमा खबर छ।
अजयले चार महिनाअघि भारत दिल्लीकी पुनमसँग तेस्रो बिहे गरेका थिए। माइतबाट दाइजो फिर्ता गराउन आएकी पुनमले ‘भएभरको जायजेथा’ लैजान लागेको भन्दै अजयले पाँच क्विन्टल चाँदी आइतबार राति नै छिमेकीको घरमा लुकाउन खोजेका थिए। टिनका ठुल्ठूला बाकसमा रहेको चाँदी लुकाउन लागेको थाहा पाएपछि पुनमले पछ्याएकी थिइन्।
उक्त चाँदी गाउँलेलाई नगद ऋण दिन धितोबापत लिइएको थियो। स्रोतका अनुसार चार महिनाअघि अजयले आफूलाई १५ लाख रुपैयाँ मासिक आम्दानी गर्ने, विराटनगरमा आलिशान बंगला र सम्पन्न घरानाको भन्दै भारत नयाँदिल्लीकी पुनमसँग विवाह गरेका थिए। उनीहरुको बिहे २० लाख रुपैयाँ दाइजोमा छिनोफानो भएको थियो। विवाह भएपछि ससुराली घर रंगेली आएकी पुनमले आफूभन्दा अघि अजयको दुईवटा पत्नी रहेको थाहा पाएपछि माइत फर्केकी थिइन्।
पुनमले भारतीय दूतावासमार्फत दाइजो रकम फिर्ता लैजान पहल गरेकी थिइन्। त्यसका लागि उनी रंगेली आएपछि अजयको घरमा भागाभाग चलेको थियो। आइतबार अबेर राति सुटुक्क अजयले बाकसमा रहेको नगद र जिन्सी ‘चोर’ शैलीमा बोकेर लुकाउन लैजाँदा पुनमले थाहा पाएकी थिइन्।
बाटोमै पति–पत्नीको ‘लफडा’ परिरहेको सुनेपछि गाउँलेहरु एकत्रित भए। गाउँलेहरुको पुनमको साथ दिए। र, अजयले लुकाएको चाँदी खोसेर प्रहरीमा बुझाए। अजयले स्थानीय दिनेश कुँवर र द्वारिका अग्रवालको घरमा चाँदीसहितको बाकस लुकाउन खोजेका थिए। बाटोमा लुँछाचुँडी गर्दा छरपष्ट चाँदी गाउँलेले प्रहरी बोलाएर संकलन गरे।
अजयको पुर्ख्यौली धन्धा नै सुनचाँदी धितोमा राखेर ब्याजमा ऋण दिनु हो। गाउँलेका अनुसार उनी घरबाटै करोडौंं कारोबार गर्छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक पोखरेलले अजयको परिवारमा अंशसम्बन्धी झगडा चलिरहेको र अंशबन्डा हुँदा आफ्नो सम्पत्ति पनि बाँडिने लोभले चाँदीको बाकस लुकाउन खोज्दा पक्राउ परेको बताए। ‘गाउँलेले नियन्त्रणमा लिएर अजयलाई प्रहरीमा बुझाएका छन्, हामी अनुसन्धान गर्दछौं,’ डिएसपी पोखरेलले भने।
अजयले घरमा राखेको सुनचाँदी र गरगहना लुकाउन खोजेको खबर पाएपछि उनीसँग ऋण लिएका रंगेली र त्यसआसपास ५ हजार ऋणीले सोमबार इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्। ‘धरौटी राखेको जिन्सी फिर्ता पाउनुपर्छ,’ एकजना ऋणीले भने, ‘हाम्रो सम्पत्ति लुकाउन वा बेच्न पाउँदैन।’
डिएसपी पोखरेलले अजयसँग बरामद बाकसमा रहेको चाँदी पोका–पोकामा रहेको र सबैमा ऋणीको नाम लेखिएकाले गुम्ने चिन्ता नगर्न आग्रह गरेका थिए। ‘मुचुल्का गरेर सबैको सम्पत्ति फिर्ता हुन्छ,’ उनले भने।
अजय र पुनमबीच सोमबार इलाका प्रहरी कार्यालयमा भएको छलफलमा अजयको परिवार दाइजोबापतको रकम फिर्ता गर्न राजी भएको छ। तर, गाउँलेले अवैध रूपमा करोडौंको कारोबार गर्ने अजयको परिवारमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।