महोत्तरीको बर्दिबासस्थित देउराली उच्च मावि परीक्षा केन्द्रमा केन्द्राध्यक्षसहित परीक्षा संचालन गर्ने सबै महिला छन्। १४ निरीक्षक र सहायक केन्द्राध्यक्ष पनि महिला नै छन्।
यहाँ परीक्षार्थीमा पनि छात्रा नै धेरै छन्। यो केन्द्रमा ६ विद्यालयका ४ सय ७२ परिक्षार्थीमध्ये २ सय ६५ जना छात्रा छन्। केन्द्रको सुरक्षामा खटिने अधिकांश सुरक्षाकर्मी पनि महिला नै भएपछि देउराली केन्द्र अहिले जिल्लाभर चर्चामा छ।
महोत्तरीको एसएलसी इतिहासमा महिलाले मात्रै परीक्षा केन्द्र संचालन गरेको यो पहिलो पटक भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
परीक्षा अपेक्षकृत शान्त र ब्यवस्थित देखिएपछि यो केन्द्रले चौतर्फी प्रशंशा बटुलेको छ।केन्द्राध्यक्ष रमा ढकालले पहिलोपटक केन्द्र संचालनको दायित्व महिलाले पाएको बताइन्। परीक्षा सञ्चालनमा कुनै समस्या नपरेको उनले बताइन्। उनका अनुसार परीक्षालाई मर्यादित बनाउन सबैतिरबाट सहयोग जुटेकेा छ।
आफ्नो छोरालाई पुर्याउन आएकी अभिभावक कान्छी बिकले परीक्षा चलाउने सबै महिला मात्रै देखेपछि आफूलाई खुशी र आश्चर्य दुवै लागेको बताइन्।
राष्ट्रिय जनता उच्च मावि रातुकी प्रध्यानाध्यापक सानीनानी खड्काले सबै महिला मिलेर एसएलसी चलाएको देख्दा आत्मबल थपिएको बताइन्।
एसएलसी परीक्षाको यो वर्ष महोत्तरीमा २८ परीक्षा केन्द्रमा १ सय ४ माविका १२ हजार ३ सय १७ परीक्षार्थीले जाँच दिइरहेका छन्।
त्यसमध्ये बर्दिबासस्थित देउराली उच्च माविलाई नमुना केन्द्रको रुपमा सञ्चालन गर्न सबै जिम्मा महिलालाई सुम्पेको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दहालले बताए।
यो पटक बर्दिबासको देउराली मावि, खखना र रतौली केन्द्रमा पहिलोपटक महिला केन्द्राध्यक्ष तोकिएको छ।