वार्डमा बसेर बिरामीका फाइलहरु हेरिरहेको थिएँ। अचानक सिस्टर प्रज्ञा हतारिदै आइन र भनिन्, ‘म्याडम म्याडम एकचोटी तल जानुहोस रे हजुरलाई भेट्न मान्छे आउनुभएको छ।’
‘म अहिले थोरै बिजी छु माथि नै बोलाऊ, को हो र? अर्जेन्ट छैन भने एकछिन कुर्नु भन अहिले नै भेट्नुपर्ने हो भने पठाइदेऊ,’ मैले भने। प्रज्ञाले ‘नाइ हुन्न हजुरनै तल जाउ न एकचोटी स्पेसल मान्छे आउनुभएको छ क्या प्लिज आउनुहोस् न,’ भनिन्।
प्रज्ञाको जिद्दीसँग मेरो केहि लागेन। म तल झरेँ हस्पिटल वरिपरी उही पुरानै वातावरण थियो। खोइ कोही स्पेशल त त्यस्तो केही देखिनँ र अलिकती आबेशमा आएर भने, ‘प्रज्ञा तिमी किन यस्तो के थाहा छैन तिमीलाई मेरो कत्ती काम छ? ४ नम्वर बेडको बिरामी आइसियु मा सार्नुछ अनि ७ नम्वरको इसिजिमा पठाउनुछ खै को आउनु भएको बोलाउ छिटो।’
प्रज्ञाले जवाफ फर्काइ- म्याम आकाश सर आउनुभएको थियो अघि भर्खरै, बाथरूम जानुभएको होला।
‘आकाश सर्’???? म छाँगाबाट खसे जस्तै भएँ। एक मिनेटमै खै के भयो म भित्र कता कता खुसीले गद गद भएजस्तो। कता कता भित्र पोलेजस्तो चसक्क भयो। प्रज्ञा के तिमी सही बोल्दैछौ? साच्चिकै आउनुभएको हो उहाँ? हुन त धेरै भैसक्यो हामी एक अर्काको जीवनबाट अलग भएको। तर, हिजोका दिनमा पनि यसै गरी बिना खोजखबर आउनुहुन्थ्यो तिमीहरुको सहायता लिएर कता बस्नुभयो र म फोन गर्छु है पख।
खल्तिबाट मोबाइल झिकेँ। नम्वर पनि डिलेट गरिसकेको थिए तर मोबाइलबाट मात्रै दिमागमा क ख जस्तै कण्ठ थियो। हतार हतार मोबाइल झिकेर डायल गरे फोनको रिङ गयो उठेन। फेरि गरे लगातार ७ चोटिसम्म उठेन र प्रज्ञालाई सोधेँ, ‘नानी साच्चै आउनुभएको हो?’
६ महिनादेखि कुनै कन्ट्याक छैन आज कम्तिमा जे को लागि आउनुभएको भए नि एकचोटी देख्न त पाउँछु भनेर दुखेको छाती थोरै हल्का भएजस्तो लागिरा’छ तर खै नानी उहाँ कहाँ जानुभयो? यती भन्दा भन्दै मेरा आँखाहरू टिल्पिलाइसकेका थिए। सायद त्यही देखेर प्रज्ञाले पनि रसिला आँखा बनाउँदै भ नी, ‘म्याम खासमा आज अप्रिल फूल हो। आईएम रियल्ली सरी म्याम्! महिनौदेखि हजुरको उजाड अनुहार हेरेर हामी धेरै दुःखी थियौ। हुन त हरेक तनावको बाबजुद पनि हजुरले धेरै कुरा गर्नुभएको छ तर पनि हजुरको मुस्कानबिना हामीलाई काम गर्ने साहस नै आउँदैन म्याम, सो एकछिन भए पनि हजुरलाई थोरै खुसी बनाउन सकिन्छ कि भनेर हामी सबैले सल्लाह गरेको तर झन दुःखायौकि जस्तो लाग्यो सरी अब कहिल्यै गर्दिनँ।’
यी सबै कुरा मलाई सपना जस्तो लाग्यो ।बिगत फेरि बल्झियो अनि छाति फेरि चर्किन थाल्यो। हिजोका ती दिन अप्रिल फूल थिएनन् तैपनी ऊ मलाई झुक्याएर ढाटेर अनेक बहानामा आउने गर्थ्यो मेरा हरेक खुसी र सफलताका पलहरू मैले भन्नुभन्दा पहिला थाहा हुन्थ्यो उसलाई र केही फूलका गुच्छाहरु लिएर मेरो सफलतामा केहि मुस्कान लिएर आइपुग्थ्यो र तीनै फूलहरुले जीवनमा अझै धेरै अघि बढ्ने साहस र हौसला दिन्थे।
जती बेला मैले अपेक्षा नगरे पनि मेरो हौसला र इनर्जी बनेर ऊ हाजिर भयो मेरो सामु तेसपछि ती हरेक पाइलामा ती कुराहरुको आश लाग्न थाल्यो ।यसरि आशा गरिरहदा म आफै धेरै स्वार्थी भए कि जस्तो लाग्छ तर हो आकाश म स्वार्थी नै छु आज पनि। होइन भने हरेक दिन तिम्रो तस्वीर एकचोटी छातिमा राखेर तिम्रो थोरै आफ्नो आशिर्वाद लिएर मात्रै म आफ्नो काम सुरू गर्छु।
हिजोका हरेक चिनोहरू हेरेर म आफूलाई शान्त पार्छु केही आँशु बगाउँछु तिम्रा तस्वीरसँग तिमीसँग जस्तै गरी धेरै कुरा शेयर गर्छु तर बिडम्वना धेरै समयसम्म कुनै रेस्पोन्स न आएपछि धेरै छ्ट्पटिन्छु कहिलेकाही।
सायद यही हो मेरो स्वार्थ कि म तिमीले हिजो म सँग हुँदा मेरो जिन्दगी जति सफल देख्न चाहन्थ्यौ म त्यसकै लागि प्रयासरत छु तिमी नहुँदा पनि कारण मलाई आज पनि ती सपनाको त्यती नै माया लागेर आउँछ कम्तिमा टाढैबाट पनि तिमीले चाहेको मेरो सफल जीवन देख्न पाउ।
हुन त तिमीबिना मेरो जीवनमा सफतताको परिभाशा त कहाँ पूरा हुन्छ र तर पनि तिम्रो खुसीको लागि तिमीलाई मैले भौतिक दूरीबाट टाढा राखेर पनि यो समय र परीस्थितिसँग यती धेरै सङ्घर्ष गरेर तिमीले हिजो देखेका थोरै सपना जुन मेरो सफल जीवन र उज्जवल भविष्य बस त्यती त पूरा गर्नै पर्छ मैले र त्यसकै लागि हिजोको अतित तिम्रा मायाका हर चिनोहरू र मेरा हर सफल तामा तिमीले हिजो दिएका गुच्छाहरु मेरा साहस र एनर्जी बनेका छन मेरो हौसला र प्रेरणा बनेका छन्।
अझै तिम्रो एक दुई शब्द बोली सुन्न पाए अझ धेरै साहस आउने काम गर्ने त्यसैले आज अप्रिल फूल हो आकाश एकचोटी मिठो झुट बोलिदेउ न एकचोटी भूलबस मलाई सम्झिएको जस्तो गरिदेउ न प्लिज झुक्किएर या अप्रिल फूल मनाउनैको लागि भए पनि एकचोटी मेरो नम्वर डायल गरेर एक दुई शब्द बोलिदेउ है त्यो मेरो लागि एउटा ठूलो साहस र हौसला बन्नेछ। म आजको दिनभरी पर्खिरहनेछु तिम्रो अप्रिल फूल बन्नको लागि....