नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आगामी चुनावमा लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने सम्भावना रहेको बताएका छन्।
रामकोट गाउँ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले संविधान निर्माणको ऐतिहासिक अभिभारालाई पुरा गर्न लोकतान्त्रिक शक्तिबीच एकता आवश्यक रहेकाले त्यसतर्फ गृहकार्य भइरहेको बताएका हुन्।
अध्यक्ष खनालले विगतमा एकीकृत नेकपा (माओवादी)को जडसुत्रवादी धार तथा उनीहरुका विभिन्न गतिविधिले संविधान निर्माणमा अवरोध पुर्याएको भन्दै मुलुकमा सदीयौदेखि मिलेर बसेका विभिन्न जातजातिको सद्भाव र एकतालाई कायम राखेर मात्र समग्र देशलाई आर्थिक रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन्।
उनले मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान निर्माणको कार्यलाई पूरा गर्न जरुरी रहेको र त्यसका लागि संविधानसभाको निर्वाचनको विकल्प नरहेको बताए।