यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै बहिस्कारको नीति लिएको नेकपा–माओवादीले नागरिकता बितरण कार्यमा पनि अबरोध गर्ने आजका पत्रपत्रिकामा खबर छ ।
आज राजधानीबाट प्रकाशित नागरिक दैनिक अगाडि लेख्छ: गत बिहीबार सम्पन्न केन्द्रीय समिति निर्णय सार्वजनिक गर्दै महासचिव रामबहादुर थापाले विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन खोजिएको भन्दै सोको भण्डाफोर र अबरोध गर्ने चेतावनी दिए ।
सरकारले देशव्यापी रुपमा नागरिकता बितरण टोली खटाएको पाँच दिनपछि माओवादीको अवरोध निर्णय सार्वजनिक भएको छ । ‘वास्तविक नेपालीलाई नागरिकता वितरण गर्नुको सट्टा विदेशीलाई नागरिकता दिई नक्कली मतदाता सूची तयार गर्न वैशाख ८ देखि खटेको टोलीको व्यापक विरोध एवं भण्डाफोर गरी उक्त कार्यक्रम रोक्न जोड दिने’ थापाले पार्टी निर्णय उद्धृत गर्दै बताए ।
मंगलबारदेखि जारी केन्द्रीय समितिको विस्तारित बैठक बिहीबार सम्पन्न भएलगत्तै महासचिव थापाले निर्णय सार्वजनिक गरेका हुन् । बैठकमा थप गरिएका १ सय ८ बैकल्पिक केन्द्रीयसहित १ सय ५१ सदस्यीय केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको उनको भनाइ छ ।
प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको गैरदलीय अन्तरिम चुनावी मन्त्रिपरिषद बाह्य शक्तिको गुरुयोजना अनुसार बनेको निष्कर्ष निकाल्दै त्यसलाई अस्विकार गर्ने निर्णय माओवादीले गरेको छ ।
‘फागुन ३० गते राति बाह्य शक्तिकेन्द्रको गुरूयोजनामा चार दलको सिन्डिकेटले निर्णय गरी दिएको सुझावका आधारमा राष्ट्रपतिद्वारा जारी गरिएको ‘२५ बुँदे बाधा अड्काउ फुकाउ आदेश’ असंवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गरिएको छ,’ निर्णयमा भनिएको छ ।