दुई सातादेखि तारन्तार फोन आउँथ्यो, मिठो स्वरकी युवतीको । कहिले कहाँ, कहिले कहाँ भेट्न बोलाउँथिन् । वैशाख ९ गते मध्याह्न पनि फोन आयो । युवतीको अनुनय थियो– ‘कलंकी आउनुस् न !’
व्यवसायी राजेशकुमार अग्रवालले मौका चुकाउन चाहेनन्, सहयोगीको मोटरसाइकलको पछाडि बसेर कलंकी पुगिहाले ।
अन्दाजी २२ वर्षकी युवती मुसुक्क मुस्काउँदै नजिकै आएर आफ्नो कोठातिर जान आग्रह गरिन् । अग्रवाल मक्ख भएर लागे, युवतीको पछिपछि, कीर्तिपुरतिर ।
कीर्तिपुर नपा–२ मैतीनगरमा मर्मत हुँदै गरेको घरको तेस्रो तलामा रहेछ युवतीको कोठा । त्यसपछि उनी ‘बस्दै गर्नुस् है, चिया ल्याउँछु’ भनेर बाहिरिइन् । उनी बसेकामात्र के थिए, मास्क लगाएका चार युवक कोठामा छिरे र क¥याककुरुक बनाउँदै भने, ‘दायाँबाँया गरिस् भने मर्छस्, हामी जे भन्छौं, त्यही मान् ।’
निर्माणसम्बन्धी काममा संलग्न बाफल निवासी अग्रवालको सात्तो गयो । उनलाई मधुर स्वर र मुस्कानले फसाउँदै कोठासम्म ल्याउने युवती गायब भइन्, अपहरणकारीको फन्दा पारेर ।
अग्रवाल अपहरित भए, अपहरणकारीले भनेको मान्नुको विकल्प थिएन उनीसँग ।
‘दायाँबायाँ केही गरिस् भने सिधै भगवानको प्रिय बन्छस्,’ मास्कले अनुहार ढाकेका केटाहरुले निर्देशन दिँदै गए, ‘चुपचाप बस्ने, हामीले तेरो अपहरणका लागि एक करोडको सुपारी (काम) पाएका छौं, हाम्रो बोसलाई थप एक करोड ।’
अपहरणकारीको हातमा हतियार थिएन । ‘हतियार छैन भनेर भाग्न खोज्लास्,’ अपहरणकारीको चेतावनी सम्झँदै अग्रवालले नागरिकसँग भने, ‘हामी गोली हानेर सहजै मान्छे मार्ने व्यक्ति होइनौं, भनेको मानिनस् भने तलाई टुक्रा–टुक्रा बनाएर फालिदिन्छौं ।’
यसरी जवानीले मस्त युवतीले मिठो स्वरले फोन गरेर बोलाउने र ओछ्यानसम्म पुर्याएर अपहरण गराउने नयाँ शैलीअपहरणमा यौन हतियार शिर्षकमा नागरिकमा खबर छ ।