नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले उग्रवामपन्थी र अराजकतावादको पहाडमा टेकेर अनेक प्रकारका भ्रम फैलाउन खोज्ने एनेकपा माओवादीलाई आगामी निर्वाचनपछि बत्ती बालेर खोज्नुपर्ने स्थिति आउने बताएका छन् ।
पेसागत महासङ्घ नेपाल महिला विभागद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र महिला अधिकारका सवाल विषयको गोष्ठीमा खनालले आगामी निर्वाचन पछाडि उग्रवामपन्थी अराजकतावादको पहाडलाई पिँठ्यूमा बोकेको पार्टी निर्वाचनपछि बत्ती बालेर खोज्नपर्ने स्थिति आउने बताए । केही दिनअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको निर्वाचनमा एमाओवादी वा नेपाली कांग्रेसलाई जनताले रोज्नुपर्ने र एमाले पार्टी नै छैन भन्ने अभिव्यक्ति दिएका थिए ।
खनालले अहिले अनेक प्रकारका भ्रम, दिग्भ्रम फैलाउने शक्ति देखिएको छ भन्दै एमाओवादी अध्यक्ष दाहालको उक्त भनाइको प्रतिवाद गरेका हुन् । उनले संविधानसभा निर्वाचनलाई सफल पारेर मात्र महिला मुक्ति आन्दोलनलाई उचाइमा पुर्याउन सकिने विचार व्यक्त गरेका थिए ।
आगामी निर्वाचन नेपालको इतिहासको लागि निर्णायक आन्दोलन तथा नेपालको कम्युनिष्ट आन्दोलनको विकासका लागि पनि एमालेले बहुमत ल्याउन अनिवार्य हुने र लोकतान्त्रिक शक्तिसँग उपयुक्त ढङ्गले तालमेल र साझेदारी गर्र्दै दुई तिहाई बहुमतको संविधानसभा निर्माण गर्न अघि बढ्ने बताए ।