पछिल्लो १ वर्ष पूर्वाञ्चलका ८ हजारभन्दा बढी घरेलु उद्योगको दर्ता खारेज भएको छ। लोडसेडिङ, बजार अभाव, बैंकको चर्को ब्याजदर र विदेश पलायनले समेत दर्जनौ उद्योगहरु बन्द भएका छन्।
घरेलु तथा साना उद्योग कार्यालय मोरङ विराटनगरका अनुसार ८ हजार १० साना उद्योगको दर्ता खारेज गरिएको छ। सुनसरी, मोरङ, झापा, सप्तरी र सिरहाका साना तथा घरेलु उद्योगमा दर्ता भएका उद्योगलाई नियम/सर्तअनुसार काम नगरेको भन्दै दर्ता खारेज गरिएको हो।
कार्यालयका अनुसार दर्ताको प्रमाणपत्र लिए पनि सञ्चालन नगरेको, उद्योग सञ्चालन गरेको तर नोक्सानीका कारण नवीकरण नगरेका धेरैजसो उद्योग खारेजीमा परेका छन्। शृंखलाबद्ध बन्द, हड्ताल, विद्यत कटौतीलगायतका कारणले उद्योग सञ्चालन गर्न नसकिएको उद्यमीहरुले बताएका छन् ।
सुनसरीमात्र २ सय ७५ भन्दा बढी साना तथा घरेलु उद्योगको दर्ता खारेज भएको कार्यालयले जनाएको छ। मोरङमा यो संख्या ३ सयको हाराहारीमा छ। झापा, सप्तरी र सिरहामा ४ सयभन्दा बढी उद्योगको दर्ता खारेज भएको छ ।