नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको होस टुङ्गोमा नभएको बताएका छन्।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १५ औं स्मृति दिवसको अवसरमा राजधानीको इन्द्रायणीमा बोल्दै नेपालले हरेक ठाँउमा कुरा फेर्ने बानीले पनि दाहालको होस ठाँउमा नभएको स्पष्ट भएको बताए।
मनमोहन स्मृति सङ्कल्प ज्येष्ठ नागरिक उद्धार केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै नेता नेपालले कहीँ एमाले छैन भन्ने र कहीँ मैले त्यसो भन्न खोजेको हैन भन्नुले पनि उनको होसै हराएको प्रष्ट भएको बताए।
कार्यक्रममा नेपालले मुलुक राजनीतिक संक्रमणमा रहेको अवस्थामा आन्दोलनमा जानु भन्दा पनि सहमतिय राजनीतिमा आएर चुनावमा भाग लिन वैद्यपक्षलाई आग्रह गरेका छन्। सहमती र सहकार्यबिना मुलुकको निकास हुन नसक्ने बताउदै नेता नेपालले जतिसक्दो चाँडो सहमत गराएर चाँडै चुनावमा जानुपर्ने बताए।
ज्येष्ठ नागरिकको मानव अधिकार र सामाजिक सुरक्षाका काम गरिरहेको संस्था सङ्कल्प नेपालको पहलमा सरकारबाट उपलब्ध २० रोपनी क्षेत्रफलमा करिब ३० करोड रुपियाँको लागतमा सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण हुन लागेको सङ्कल्प ज्येष्ठ नागरिक ग्राम ज्येष्ठ नागरिकको सुरक्षा र अधिकारका लागि सहारा बन्ने विश्वास व्यक्त गरेका थिए।