नेपाली काँग्रेसका नेता डा रामशरण महतले एमाओवादीको सरकार विरोधी अभिव्यक्तिबाट उसले दोस्रो संविधानसभाको चुनाव नचाहेको स्पष्ट भएको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतले र काँग्रेस र नेकपा (एमाले) दुवै प्रतिश्पर्धी पार्टी भएकाले संविधानसभाको निर्वाचनमा मोर्चा बनाएरै नजाने बताए। उनले निर्वाचनको अन्तिम घडीमा केही निर्वाचन क्षेत्रमा एकले अर्कालाई सहयोग गर्न भने सकिने धारणा राखेका थिए।
नेकपा–माओवादीलाई चुनावमा सहभागी बनाउने वातावरण बनाउन प्रमुख राजनीतिक दल र सरकार अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन्। काँग्रेस नेता डा महतले राष्ट्रपतिले 'कु' गर्न खोजेको भन्ने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गर्दै यो उनको अभिव्यक्ति सत्ता छोड्नु पर्दाको पीडा मात्रै भएको बताए।