छोरा पारसको हृदयघातसँगै स्वास्थ्यस्थिति अत्यन्त चिन्ताजनक बनेपछि बैकक पुगेको पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल पारसको स्वास्थ्य लाभसँगै स्वदेश फर्केका छन्।
उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह र छोरी पूर्णीका सहितको शाह परिवार आठसाता पछि आइतबार स्वदेश फर्किएका हुन्। थाइ एयरवेजको विमानबाट दिउँसो १२:५० बजे स्वदेश फर्केका पूर्व राजा ज्ञानेन्द्रले पारसको सु–स्वास्थ्यको कामना गर्दै पूजा प्रार्थनाका लागि सबैलाई धन्यबाद दिए। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानीमा उनी राजनीतिबाट अलगै रहे।
'म तपाईहरु सबैको सु-स्वास्थ्य र मुलुकको समृद्धि चाहन्छु ।' उनले भने। विमानस्थलमा सञ्चारकर्मीहरुसँगै ठुलो संख्यामा पूर्वराजपरिवारलाई स्वागत गर्न राजसंस्था पक्षिय संस्था र व्यक्तिहरु पुगेका थिए।
पारसको स्वास्थ्यमा सुधार आएको र हाल उनी बैकककै एउटा पुनर्स्थापना केन्द्रमा रहेको बताए। हृदयघात पछि पारसको बैककस्थित समितिभेज अस्पतालमा भर्ना गरे पछि फागुन १६ गते पूर्व राजा–रानी त्यसतर्फ गएका थिए। पूर्व युवराज्ञी हिमानी त्यो भन्दा ४ दिन पहिले नै बैंकक पुगेकी थिइन । तस्विर :प्रकाश लामा