काठमाडौं, वैशाख ८ (सेतोपाटी)– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहयात्री दल र आफ्नै पार्टीका नेताहरूको परिबन्दमा परेर लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गर्न बाध्य भएको बताएका छन् ।
‘लोकतन्त्रमा लोकमान’ भनी कांगे्रस महासमिति बैठकमा चर्को आलोचना खेप्दा पनि मौन कोइरालाले शनिबार झापा पुगेर इच्छा नहुँदा–नहुँदै सिफारिश गर्नुपरेको सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।
प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारलाई निर्देशन गर्न बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो वैठकले संवैधानिक निकाय पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो ।
अख्तियार प्रमुखमा कार्कीको सिफारिस विवादास्पद भएपछि संवैधानिक परिषद्ले अरू नियुक्ति पनि गरेको छैन । ‘प्रचण्ड र गच्छदारजीले लोकमानको नाम ल्याउनुभयो,’ कोइरालाले भने, ‘महन्त ठाकुर र झलनाथ खनालले तुरुन्त समर्थन जनाइहाल्नुभयो ।’
अख्तियारका लागि कार्कीले आर्जेको छवि कोइरालालाई चित्त बुझेन । त्यसैले कांग्रेसबाट बैठकमा सहभागी शेरबहादुर देउवाको समर्थन लिन खोजे । ‘अरू पार्टीका नेताहरू एकमत भएका रहेछन्,’ कोइरालाले दुखेसो गरे, ‘हाम्रै पार्टीका साथीले पनि कार्कीलाई नै गरौं गरौं भने ।’
संयन्त्रका संयोजक पुष्पकमल दाहालसहित सबै एकमुख भएपछि वर्षौदेखि रिक्त संवैधानिक नियुक्तिमा आफूले मात्र अड्को थाप्न उपयुक्त नलागेको कोइरालाले बताए । ‘यस्तो परिबन्दमा परेर मैले पनि हुन्छ भनिदिएँ,’ उनले भने । संयन्त्रमा कांग्रेसका अर्को सदस्य देउवा हुन् ।
संयन्त्रले उक्त निर्णय गरेको भोलिपल्टैदेखि पार्टी उपसभापति रामचन्द्र पौडेलसहित नेताहरूले कार्कीलाई अख्तियारमा ल्याउन नहुने भन्दै कडा विरोध गरिरहेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्कासहित २२ केन्द्रीय सदस्यको अभियानले महासमिति वैठकमा कार्कीलाई नियुक्ति नगर्न भनी लिखित प्रस्ताव नै दर्ता गरेका थिए ।
नयाँ वर्षदेखि उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक कोइराला नै छन् । एक÷एक महिने आलोपालो प्रणालीअन्तर्गत वैसाखभरि उनले नेतृत्व गर्नेछन् ।
कांग्रेस स्रोतका अनुसार कोइरालाका पुराना सहयोगी नेताहरू कार्कीलाई रुचाउँदैनन् । ‘राजनीतिमा सदाचार’को वकालतमा विगतमा कोइरालालाई साथ दिँदै आएका बलदेव शर्मा मजगैयाले पनि यो निर्णयबारे पार्टी नेतृत्वसँग असन्तुष्टि व्यक्त गरिसकेका छन् । ‘जिन्दगीभर इमानको राजनीति गरेर अहिले लोकमान,’ मजगैयाका रोषबारे कोइराला निवास स्रोतले भन्यो, ‘तपाईं यत्रो कलक बोक्न तयार हुनुभयो ?’
एमाले अनुशासन विभाग र पोलिटब्युरो वैठकले अघिल्लो साता कार्कीको नियुक्ति सिफारिस फिर्ता लिने औपचारिक निर्णय नै गरिसकेको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारलाई परामर्श दिन सक्ने संवैधानिक प्रावधानअनुसार संवैधानिक निकाय नियुक्ति सिफारिस भएको हो । त्यसलाई हुबहु सकार्ने वा आफ्नो विवेक प्रयोग गर्ने भन्ने अधिकार परिषद् अध्यक्ष खिलराज रेग्मीसँग सुरक्षित छ ।
कार्की अयोग्य भएको दाबी गर्दै दायर रिटको जवाफ दिने क्रममा रेग्मीले ‘अख्तियारमा उच्च नैतिक छवि भएको व्यक्ति हुनुपर्ने’ तथ्यबारे आफू सचेत रहेको जानकारी गराएका छन् ।
सत्ता र शक्तिको दुरुपयोगमा माहिर कार्कीलाई भ्रष्टाचार अनुसन्धानको बागडोर सुम्पने निर्णयको चर्को आलोचना भएपछि कांग्रेस र एमाले हच्किएका छन् । तर मधेसी मोर्चा र माओवादी शीर्षनेता भने कार्कीको पक्षमै छन् ।
संयन्त्रमा माओवादीका अर्का सदस्य माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पूर्व मुख्यसचिव कार्कीलाई ‘जुनसुकै ओहदाका लागि योग्य व्यक्ति’ भनेर बचाउ गर्ने गरेका छन् ।
प्रकाशित मिति: 2013-04-21 08:52:31