रोजगारीका लागि दुबई आइपुगेकी चितवन ज्यामिरेनिवासी हरिमाया सुनार साताको एक दिन नेपालमै पुगेको अनुभूति गर्छिन्। साताको ६ दिन अर्काको नियन्त्रणमा बिते पनि शुक्रबार भने उनमा निकै खुसियाली छाउँछन्। दिनभरको भरपुर मनोरञ्जनले परदेशमा सहेको सबै दुःख, पीडा भुलेर आफ्नै जन्मभूमि नेपाल पुगेको अनुभूति हुन्छ, उनीहरूलाई। सुनार मात्रै होइन, दुबईमा रहेका सबै नेपालीले त्यस दिन आफू स्वदेश पुगेको अनुभूति गर्छन्। कामको पीडा भुलेर नेपालीहरूले हरेक शुक्रबार वर्डदुबईमा भेला भई खुसी साटासाट गर्दै स्वदेशमै रहेको अनुभव गर्ने गरेका हुन्।
त्यसैका लागि आजभोलि दुबईमा रहेका सबैजसो नेपालीलाई शुक्रबार आयो कि वर्डदुबई जाने चटारो हुन्छ। एक ठाउँमा भेला भई सुख–दुःखका कुरा हुने भएकै कारण नेपालीहरूका लागि आर्कषणको केन्द्र बनेको छ, वर्डदुबई। सुनसरी इटहरीका इश्वर कार्की भन्छन्, ‘हप्ताभरि काम गर्यो, एक दिन भए पनि सबै नेपाली भेला भएर गफ गर्दा घरको याद मेटिँदोरहेछ।’ दुबईको मध्यभागमा रहेको वर्डदुबईमा शुक्रबार ठूलो संख्यामा भेला भएर नेपाली कामदारहरू रमाइलो गर्ने गर्छन्। शुक्रबार कामबाट मुक्त हुने भएका कारण उनीहरू त्यो दिनलाई विशेष रूपमा लिने गर्छन्, आफ्नो पीडा भुलाउनका लागि।
घरेलु कामदारको रूपमा रहेका नेपालीका लागि त ठूलो चौतारो नै बनेको छ, वर्डदुबई। इलाम दानाबारीकी ईश्वरी राई भन्छिन्, ‘हप्ताभरि अर्काको वशमा रहेका महिला हामीलाई वर्डदुबई वरदानजस्तै भएको छ।’ उनी शुक्रबार बिहानै हतार–हतार काम सकेर आफूजस्तै परदेशमा दुःख गरिरहेका नेपाली भेट्न र भलाकुसारी गर्न वर्डदुबई जाने गरेकी छन्। भेला भएका नेपालीहरू हप्ता दिनसम्म अरूकै भाषा र शैलीमा काम गरेकै कारण हुन सक्छ, सामूहिक फोटो खिचाउने र नेपाली खानेकुरा खाने उनीहरूको शुक्रबारको दिनचर्या हो।नजिकै रहेको समुद्रमा डुंगामा सवार गर्नु, गीत गाउनु र माया साटासाट गर्नु उनीहरूको अर्को विशेषता हो। नेपाली चाडपर्व विशेष दिनहरूमा बिहानैदेखि भेला भएर खुसी साटासाट गर्दा र भर्खरै नेपालबाट आएकाबाट गाउँघरको खबर सुन्न पाउँदा झनै खुसी लाग्दोरहेछ, उनीहरूलाई।
वुटबलनिवासी लक्ष्मी खतिवडाले राजधानीसँग भनिन्, ‘वर्डदुबईमा नेपालीहरूका लागि शुक्रबार बिर्सिनसक्नुको दिन हुन्छ।’ त्यसो त उनीहरूका अनुसार वर्डदुबईमा शुक्रबार बसिबियाँलो र खबर आदानप्रदान गर्न पुगेका कति नेपाली युवायुवतीहरूको त्यहीं चिनजान भएर विवाहसमेत हुने गरेको छ । नेपालीहरूका लागि जति संगम स्थल र चौतारोको रूपमा विकास भएको छ वर्डदुबई, त्यति नै नेपालीहरू हेर्न र उनीहरूको जमघट नियाल्न अन्य देशका पर्यटकको भीड लाग्ने गरेको छ। दुबईमा करिब २ लाख नेपाली कामदार रहेका छन्, जसमध्ये महिला २० हजार र पुरुष १ लाख ८० हजार रहेको नेपाली दूतावासको तथ्यांक छ। राजधानी दैनिकमा खबर छापिएको छ ।