तीनको ज्यान गुम्यो, सयभन्दा बढी घाइते
काठमाडौं, वैशाख ३ (सेतोपाटी)– बोस्टन म्याराथन सकिनै लाग्दा त्यहाँको स्थानीय समयअनुसार सोमबार दिउँसो भएको आतंकवादी विस्फोटमा कम्तीमा तीनको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । सेप्टेम्बर ११ पछिको सबैभन्दा भयानक आक्रमण मानिएको बोस्टन विस्फोटले विजयको उल्लास मनाउनुपर्ने ठाउँ एकैछिनमा त्रासदीको अवस्थामा बदलिएको थियो । केही पीडितका खुट्टा गुमे भने ३० सेकेन्डको फरकमा भएका दुई विस्फोटले थुप्रै गम्भीर घाइते भए ।
टेलिग्राफका अनुसार संसारकै प्रसिद्ध खेलमध्ये एक मानिने बोस्टन म्याराथनमा भएको विस्फोटले अमेरिकामा खलबली मच्चिएको छ । न्युयोक र वासिङ्टनमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले म्यासाचुसेट्स सरकारका अधिकारीहरूसँग सहानुभूति व्यक्त गरेका छन् । घटनापछि राष्ट्रको नाममा सम्बोधन गर्दै ओबामाले भने, ‘यो घटना कसले गरेको हो र किन गरेको हो भन्ने हामी पत्ता लगाउँछौं, कुनै पनि जिम्मेवार समूहले यसको नतिजा भोग्नुपर्नेछ ।’ उनले अगाडि भनेका छन्, ‘अमेरिकी जनता आजको रात (सोमबार रात) बोस्टनका लागि प्रार्थना गर्नेछ तथा यो दुखको घडीमा म र मिसेल हाम्रो प्रार्थना विस्फोटमा परेको पीडित परिवारलाई पठाउन चाहन्छौं ।’