सुर्खेत अस्पतालमा २० वर्षमुनिका ६ सय गर्भवती, वर्षमा ३१ ज्यान गुमे
विनोद शाही, सुर्खेत, वैशाख ३– सुत्केरी व्यथाले च्यापेपछि कल्याण–५ की १५ वर्षीया राधिका विकलाई असोज २ गते मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइयो । अस्पताल पुर्याएको तीन घण्टापछि चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरे ।
‘कम उमेरमै गर्भवती राधिकाको बच्चा जन्माउन सक्ने अवस्था थिएन,’ डा. गणेश थापाले भने, ‘अस्पताल ल्याउँदा राधिकाको पेटको बच्चा मरिसकेको थियो, हामीले हरप्रयत्न गर्दा पनि आमालाई बचाउन सकेनौं ।’
थापाका अनुसार मृत्युको मुख्य कारण १३ वर्षको कलिलो उमेरमै भएको विवाह थियो । राधिका मात्रै होइन शरिर परिपक्व नै नभई दोजिया भई सुत्केरी हुन नसकेर ज्यान गुमाउनेहरुको संख्या धेरै छ । ‘२०६९ सालमा हाम्रो अस्पतालमा १९ वर्ष मुनिका ३१ जानाको ज्यान गयो,’ डा. थापा भन्छन्, ‘अस्पतालको मुख नै नदेखी मर्नेको संख्या अझ धेरै होला ।’
अस्पतालका रेकर्ड अनुसार रामघाट–५ की १७ वर्षीया वर्षा रसाइलीको पनि बच्चा जन्माउन नसकेर अस्पतालमै मृत्यु भएको थियो । १६ वर्षमै स्थानीय एक युवकसँग अन्तरजातीय प्रेम विवाह गरेकी वर्षा अर्को वर्ष गर्भवती भइन् । सुरक्षित प्रसुतिका लागि सुत्केरी हुनुभन्दा ४ दिनअघि नै परिवारले उनलाई अस्पताल पुर्याएको थियो । तर, बच्चा र आमा दुवैले अकालमै ज्यान गुमाउनु पर्यो ।
‘कम उमेरमा गर्भवती हुँदा आमा र बच्चालाई खतरा हुन्छ भन्ने सुनेको त थिएँ,’ वर्षाका श्रीमान रघुनाथ खत्री पछुताउँछन्, ‘वास्ता नगर्दा यो वज्रपात सहनु पर्यो ।’
कलिलै उमेरमा गर्भवती भएर पनि कालको मुखबाट फर्किएकाहरुको संख्या धेरै ठूलो छ । आफूले नौ महिना कोखमा हुर्काएको बच्चा गुमाउनुपर्दा उनीहरूले विछोडको गहिरो पिडा सहनुपरेको छ ।
वीरेन्द्रनगर–१० की १५ वर्षीया अमृता खरालको वच्चा जन्माउन सक्ने उमेर र शक्ति थिएन । डाक्टरले अप्रेसन गरेर पेटबाट बच्चा झिके । आमाको ज्यान वल्लतल्ल बचाए, बच्चा जोगाउन सकेनन् ।
राधिका, वर्षा र अमृता त उदाहरण मात्रै हुन् । बालविवाहका कारण हरेक वर्ष दर्जनौं परिवारमा बज्रपात पर्छ ।
मध्यपश्चिमाञ्चल अस्पतालका अनुसार एक वर्षमा १ हजार ३ सय महिला सुरक्षित प्रसुति सेवा लिन आएका थिए । ‘ती मध्ये ६ सय जना २० वर्ष मुनिका छन्,’ अस्पताल प्रमुख डा.भोलाराम श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा आएर बच्चा जन्माउनेमध्ये झण्डैं आधा कम उमेरका देखिएका छन् । श्रेष्ठका अनुसार टाढा गाउँका गर्भवती जटिल समस्या नपरी सुर्खेत अस्पताल आउँदैनन् । घरमै वा स्वास्थ्य चौकीमा बच्चा जन्माउनेहरुको संख्या जोड्ने हो भने कलिलो उमेरमै आमा वन्नेहरुको र्संख्या अझ ठूलो हुन्छ ।
सुर्खेत एनजिओ/आइएनजिओहरुको ‘हब’ हो । सरकारी र देशी/विदेशी गैरसरकारी संस्थाहरुले करोडौं खर्चेर सुरक्षित मातृत्वको कार्यक्रम सञ्चालन गरिरहेका छन् । अवोध किशोरीहरुलाई चुँडेर लाने बालविवाह विरुद्ध अभियान पनि सञ्चालन गरिएको छ । ती कार्यक्रम प्रभावकारी हुन सकेका छैनन, कागजी मात्र भएको छ ।
डा. श्रेष्ठका अनुसार अन्य महिलाको तुलनामा कम उमेरमा गर्भवती भएका किशोरीहरुको मृत्युको खतरा पाँच गुणा बढी हुन्छ । तिनीहरुले जन्माउने बच्चाको मृत्युदर पनि दोव्वर हुने उनले बताए ।
‘बालविवाहलाई रोक्न सकियो भने मातृशिशु मृत्युदर रोक्न ठूलो सहयोग हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘सामाजिक जागरण दोस्रो उपाय हो ।
किशोरी गर्भ यसकारण खतरा
- लामो बेथा लाग्ने
- अधिक रक्तश्राव
- बच्चा अड्कने,
- कम तौलको शिशु
- सालनाल नझर्ने
- पाठेघर र प्रजनन् अंगमा संक्रमण हुने
- तल्लो पेट दुखिरहने
- बेलाबेलामा चक्कर लाग्ने
- बेहोश हुने
- उच्च रक्तचाप हुने
- पाठेघर खस्ने
- क्यान्सरको सम्भावना