पश्चिम तराईका ५ जिल्लाहरुमा थारु समुदायले गरेको बन्दका कारण मंगलबार बिहानैदेखि जनजीवन प्रभावित भएको छ।
लामो तथा छोटो दुरीका सवारीसाधन चल्न नसक्दा हजारौ यात्रु अलपत्र परेका छन् ।
बन्दका कारण व्यापार, व्यवसाय, स्कुल ,कलकारखाना ठप्प छ । बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा व्यापक प्रहरी परिचालन गरेको छ।
थारु संवद्ध २१ वटा सङ्घ संस्थाले आफ्ना मागबारे सरकारले वेवास्ता गरेको भन्दै मंगलबार र बुधबार दुई दिन बन्द घोषणा गरेको हो।
रहस्यम तरिकाले मृत्यु भएका कमलरीको दोषी पहिचान गरी कानुनबमोजिम कारबाहीको माग गर्दै करिब दुई दर्जन थारु संगठनले बन्दको आह्वान गरेका हुन्।
गत चैत १४ गते दाङका युवराज पौडेलको ललितपुरको चाकुपाटस्थित घरमा काम गर्ने दाङ लालमटियाकि १२ वर्षीया सृजना चौधरी, २०६५ वैशाख २ गते दाङ लमहीका इन्द्रमणि खनालको घरमा कैलाली टिकापुर ९ की १५ वर्षीया सरिता चौधरी, २०६४ पुस ३० गते लमहीकै दंगाली होटलमा दाङ रामपुरकी १३ वर्षीया सीमा होजा मगर र कैलाली धनगढीका प्रकाश विष्टको घरमा धनगढीकै १५ वर्षीया उर्मिला रानाथारुको रहस्यमय तरिकाले मृत्यु भएको तथा र २०६८ भदौ १ गते कैलाली दैदवारीकि १६ वर्षीया मेघी चौधरीको दाङका बालकृष्ण शाहको काठमाडौं नयाबानेश्वरस्थित घरमा जलाएर विभित्स हत्या भएको बन्द आयोजकको संघर्ष समितिद्वारा जारी अपिलमा जनाइएको छ।
अधिकांश घटनामा बालिकाले आत्महत्या गरेको भनिएता पनि घटना रहस्मय रहेको उनीहरुको भनाइ छ। आत्महत्या नै भए पनि आत्महत्या गर्ने परिस्थिति सृजना हुनुको कारणबारे अनुसन्धान गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने उनीहरुको माग छ। त्यसैगरी, कानुन बिपरित कमलहरी राख्नेप र दिनेलाई कारबाही गरी कमलहरी प्रथाको अन्त्य गर्न माग गरेका छन्।
एक संयुक्त प्रेस विज्ञप्तिमार्फत नेपालमा लोकतन्त्र प्राप्त गरेको वर्ष भए पनि न्यायमा जनताको पहुँच नभएको र गत चैत २१ गते सरकारसमक्ष राखेका मागका बारेमा कुनै पहल नगरेको भन्दै सबै ठुला दल सम्बद्ध थारु संगठन, थारु कल्याणकारिणी सभा, जनजाति महासंघ, थारु नेतृत्वमा रहेका स्थानीय गैरसरकारी संस्था, मुक्त कमलहरी विकास मञ्चलगायतका करिव २ दर्जन संगठन छन्।