डिफेन्डिङ च्याम्पियन विर्तामोड धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिताको फाइनलमा पुगेको छ। तीन गोलले पछि परेको स्थितीलाई उल्टाउदै विर्तामोडले अतिरिक्त समयमा निर्णायक गोल गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लबको चुनौती ४–३ले समाप्त पारेको हो।
निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा कर्ण लिम्बुले निर्णायक गोल गर्दै विर्लातामोडलाई उपाधि नजिक पुर्याएका हुन् ।
गणेश लावतीले गरेको प्रतियोगिताकै पहिलो ह्याट्रिकलाई छायाँमा पार्दै विर्तामोड लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । २०६७ सालमा थ्रीस्टार क्लबसँग फाईनलमा पराजित विर्तामोडले २०६८ सालमा उपाधी जितेको थियो।
सोमबार धनकुटाको टुडिखेलमा भएको खेलमा पहिलो हाफको १४औ मिनेटमा श्याम नेपालीको पास सदुपयोग गर्दै गणेश लावतीले टिमलाई खेलमा अग्रता लिएका थिए। उनले २८औ मिनेटमा टोलीको लागि दोस्रो गोल गरेका थिए। यस्तै गरि खेलको ३९ औ मिनेटमा कर्नर बललाई आकर्षक हेडगोल गर्दै गणेशले हयाट्रिक पुरा गरका थिए ।
एपिएफका लागि गणेश लावती र सन्तोष श्रेष्ठले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसर चुकाउदा हार स्वीकार्नु परेको थियो।
यता पहिलो हाफको २६ औ मिनेटमा पेनाल्टी गोल गर्न नसक्दा हारको संघारमा पुगेको विर्तामोड युथ क्लबले अन्तिम १० मिनेटमा ३ गोल गरेर खेल आफ्नो पक्षमा पारेको थियो। मौसमको कारण ८० मिनेटमा झारिएको खेलको ७०औ मिनेटमा सुदिप गुरुङले गोल गरेपछि विर्तामोडले खेलमा फर्कने संकेत देखाएको थियो। पहिलो गोल गरेको २ मिनेट पछि नै गोलकिपर अगाडि बढेको मौकामा विशाल राईले दर्शनिय गोल गरेर खेल रोमाञ्चक बनाए। गोल अन्तर घट्ने वित्तिकै हौसिएको विर्तामोडका कर्ण लिम्बुले खेल सकिन ३ मिनेट बाँकी छँदा बराबरी गोल गरेका थिए।
अतिरिक्त समयमा कर्णले निर्णायक गोल गर्दै विर्तामोडको जित निश्चित गराएका थिए। खेलमा पहिलो हयाट्रिक गरेका एपीएफका कप्तान गणेश लावती म्यान अफ द म्याच भए।
खेलपछि एपीएफका प्रशिक्षक एपिएफ प्रशिक्षक जनसिंले आक्रोसित हुँदै दोस्रो हाफमा हेलचेक्राई गरेर खेलेकाले हारेको बताए। केटाहरुले विपक्षी टिमको रणनीति बुझ्न नसकेको र डिफेन्सको गल्तीको कारण गोल खाएको बताए। विर्तामोड युथका टिम मेनेजर भुपेन्द्र लिङदेनले उच्च मनोबल र टिम एकताको कारण जितेको बताए। खेलाडीहरु फर्ममा र टिमसेट मिलेको छ। त्यसैले फाईनल जितेर रक्षा गर्ने छौ, लिङदेनले बताए।
मंगलबारको दोस्रो सेमीफाइनल
राष्ट्रिय जागृति क्लब विरुद्ध ब्वाईज युनियन क्लब