भक्तपुरको मध्यपुरथिमीस्थित बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा पाँचौ पटक बोडेका ३२ वर्षीय जुजुभाइ वाडे श्रेष्ठले जिब्रो छेडेका छन् । विगत पाँच वर्षदेखि जिब्रो छेड्न थालेका वाडेश्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न जिब्रो छेडेको बताए ।
बोडे पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा बनाएको मञ्चमा नाथखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा अनुसार उनले विभिन्न देवगणको पूजा गरी जिब्रो छेडेका हुन् । नकर्मीले एक महिनादेखि बनाएको लामो तेलमा डुबाएर राखेको सुइरोले सबै देवगणको पूजा गरी नायखिँ बाजा बनाउँदै जुजुभाईलाई मञ्चमा राखेर सबैको अगाडि जिब्रो छेडिएको हो ।
त्यसपछि बाँस एवं निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप (भ्यय) बालेर बोकाई विभिन्न टोलटोल घुमाइएको थियो । टोलटोल घुमाई पाँचोगणेशको रथलाई भागुटोल पुर्याएपछि नकर्मी नाइकेले जिब्रोमा रहेको सियो निकाली महालक्ष्मीको माटो जिब्रोको प्वालमा राखिदिने र सियो गणेश मन्दिरमा ठोकेपछि नाट्यम्बरको पूजा गरेपछि मात्र जिब्रो छेड्ने व्यक्तिले बोल्न, खान र छुन हुने परम्परा छ । यो जात्रा विश्व प्रसिद्ध जात्रा पनि हो ।
जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा)ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिए । त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे । बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्यो । भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुघरु बाँधिदिए ।
पिशाचको जिब्रो छेडी बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाइन्छ । कष्ट सहन नसकी पिशाचले आपूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ ।