पहाडी जिल्ला संखुवासभा सदरमुकाम खाँदबारीमा आगलागीबाट ७ करोड भन्दा बढिको क्षति भएको छ । सोमबार विहान करिब ३ बजे कृष्णमान शाक्यको घरवाट सल्केको आगोले शाक्यको सँगै अन्य थप चार पनि खरानी बनायो । आगलागीबाट ५ वटा घर पुर्णरुपमा जलेर नष्ट भए पनि कुनै पनि मानवीय क्षति भएको छैन ।
आगलागीवाट ७ करोड भन्दा बढिको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट भरत श्रेष्ठ, दीनेश श्रेष्ठ, रामकाजी राई र कृष्णमान शाक्यको घर जलेर नष्ट भएको हो । आगोमा परेर कृष्णमानले घरमै राखेको ७ लाख रुपैयाँ समेत जलेको छ ।
आगलागी भएका सबैघरमा इलेक्ट्रोनिक्स तथा फेन्सी स्टोर रहेकोले क्षती बढि भएको प्रहरीले बताएको छ । स्थानियबासी प्रहरी र नेपाली सेनाले करिब ४ घन्टापछि आगलागि नियन्त्रणमा लिएका थिए ।
आगो निभाउन ५० सेना, जनपथ र सशस्त्र प्रहरी गरि १ सय ५० जना तथा १ हजार बढी स्थानीयवासीन्दा सहभागी भएका थिए । खाँदबारीमा दमकल नभएका कारण आगो निभाउन समस्या भएको थियो ।
वजारका अन्य क्षेत्रमा आगो सल्किने सम्भावना बढेपछि नेपाली सेनाको बराहदल गुल्म, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले आगो फैलन नदिन रमेश विकको घर भत्काएका थिए ।
खाँदबारी नगरपालिकासँग दमकल नभएको हिले, धरान र विराटनगरवाट दमकल ल्याउने सम्भावना नभएपछि आगो नियन्त्रणमा लिन समय लागेको हो ।
नगरपालीकामा दककलको लागि पटकपटक माग गरेको भएपनि बेवास्ता गरेको स्थानीयले बताए । आगो निभाउनका लागि सभा र अरुण खोलावाट समेत पानी ल्याइएको प्रहरीले बताएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन । आगलागीमा लत्ता कपडा, धान, काठपात र पसलका सवै सामाग्री नष्ट भएको छ ।