परम्परागत भवन, बाह्रमासे फूलको बगैंचा, आधुनिक फुडकोर्ट, व्यवस्थित सार्वजनिक शौचालय र संकलित आकाशे पानी आपूर्ति व्यवस्था मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको भावी तस्बिर यस्तै छ। सरकारले सिंहदरबारलाई सबैखाले सुबिधायुक्त आकर्षक केन्द्र बनाउने परिकल्पनासहित यस्तो चित्र तयार पारेको हो। यसलाई वास्तविकतामा बदल्न प्रारम्भिक काम सुरु भइसकेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
'शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना २०६९ अनुसार सिंहदरबारमा विभिन्न सुबिधा थप्न काम थालिसकेका छौं, सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले भने, 'केही काम अघि बढिसकेको छ।'
सिंहदरबारभित्रका नर्सरी सरकारले व्यवस्थित गर्न नसकेपछि निजी क्षेत्रलाई जिम्मा दिन लागिएको छ। 'नर्सरी सेवा खरिद गर्न बोलपत्र आह्वान भइसकेको छ,' आचार्यले भने। निजी क्षेत्रले नर्सरी लिएपछि बगैंचा थप व्यवस्थित हुने अपेक्षा सरकारको छ। मन्त्रालयअन्तर्गतको सिंहदरबार पुनर्निर्माण विकास समितिले गत माघमै बगैंचा व्यवस्थापनसम्बन्धी प्रस्तावित योजना लागत तयार गरिसकेको उनले बताए।
समितिले सिंहदरबारभित्र कर्मचारीका लागि व्यवस्थित खाजाघर (फुडकोर्ट) बनाउन इन्टेरियर डिजाइनको लागत अनुमान तयार गरिरहेको छ। 'अहिले मन्त्रालयपिच्छेका खाजाघरलाई व्यवस्थित गर्न केन्द्रीय सर्भिस सेन्टरमा फुडकोर्ट बनाउन लागिएको हो,' उनले भने, 'अहिले निर्माणाधीन भवनको सुपरिवेक्षण भइरहेको छ।' सरकारले डिपार्टमेन्ट स्टोरसहित विभिन्न सुबिधा दिन केन्द्रीय सर्भिस सेन्टर बनाएको छ।
सिंहदरबार परिसरभित्र कम्तीमा पाँच स्थानमा व्यवस्थित सार्वजनिक शौचालय बनाउने योजना पनि समितिले अघि सारेको छ। मन्त्रालय भवनभित्र शौचालय भए पनि बाहिर हिँडिरहेका आगन्तुकलाई सजिलो होस् भनेर यस्ता शौचालय बनाउन लागिएको हो।
व्यवस्थित फुटकोर्ट आकर्षक बगैचा,पाँच सार्वजनिक शौचालय र आकासेपानी संकलन प्रसोधन विवरणको व्यवस्था मिलाइदै सिंहदरबाबरको नयाँ चित्र बनाइएको हो ।