काठमाडौं, वैशाख १ (सेतोपाटी)– ‘सायद राजा वीरेन्द्र टेलिभिजनमा महाभारत सिरियल हेर्थे, समग्रतामा सिरियल र युधिष्ठिरका रूपमा मेरो अभिनय उनलाई खुब मन प¥यो क्यारे, मुम्बई आएको बेला सुटिङ हेर्ने इच्छा उनले व्यक्त गरेपछि मैले सादर आमन्त्रण गरेँ, हाल भारतीय जनता पार्टीबाट सांसद रहेका लक्ष्मण चौहानले उनको सम्मानमा विराटनगरमा शनिबार आयोजित एक स्वागत कार्यक्रममा भने, वीरेन्द्र आए पनि, पछि म महाराजधिराजको अतिथिका रूपमा काठमाडौं आएर राजदरबारमै आएर बसेँ ।’
चौहानले नेपाललाई फेरि हिन्दू राष्ट्रको दर्जा माग गर्दै आएको हिन्दू स्वयम्सेवक संघको निम्तोमा शनिबार विराटनगर आएका थिए । राजा वीरेन्द्रप्रतिको त्यो सम्मान र सम्बन्धलाई नेपाल र नेपालीका हितमा निरन्तरता दिने आफ्नो चाहना रहेको पनि उनले आयोजकसमक्ष राखे ।
‘नेपालमा गरिबहरुलाई शिक्षा दिने निहुँमा धर्म परिवर्तन गरिर्दैछ, धर्म आस्थाको विषय हो, किनबेचको होइन,’ उनले भने । त्यसै सन्दर्भमा गरिबहरूलाई पढाउन आफूले केही गर्न सके, त्यसका लागि सधैं तयार रहेको पनि उनले बताए । चौहान शनिबार अबेर गरी भारत फर्के तर जानुअघि नेपाल र नेपालीसँग निरन्तर सम्पर्कमा रहन र फेरिफेरि सामाजिक, सांस्कृतिक र धार्मिक दायित्व निर्वाह गर्न पहल गर्ने उनले बताए । नेपाल हिन्दू राष्ट्र रहिरहोस् र उसको विश्वमा आफ्नै पहिचान रहोस् भन्ने मान्यता पनि उनले सुनाए ।
आयोजकसँग भएको अलग्गै कुराकानीमा चौहानले राष्ट्रिय स्वयम्सेवक संघसमक्ष आफ्नो मान्यता राख्ने र नेपालको सांस्कृतिक पहिचान पुनर्कायम गर्न आग्रह गर्ने जानकारी पनि दिए । अभियानकै क्रममा शनिबार विराटनगरमा म्याराथन दौड आयोजना गरिएको थियो जसमा सात सय सहभागी थिए ।
प्रकाशित मिति: 2013-04-14 17:39:48