नेपाल विद्युत प्राधिकरणका कर्मचारुकिो ‘प्राविधिक सहयोग’ मा चौबीसै घन्टा बिजुली पाउँदै आएका पूर्वी नेपालका १५ मध्ये ११ उद्योगमा प्राधिकरणले चाहेर पनि लाइन काट्न सक्ने अवस्था नरहेको तथ्य खुलेको छ । यी उद्योगमा चार बर्षयता ३३ केभी लाइनबाटै ‘हुकिङ’ गराएर लोडसेडिङ गर्नै नसकीने गरी विजुली दिएको हो ।
यी ११ उद्योगमा तालिकाअनुसार लोडसेडिङ गर्दा सुनसरीको दुहबीदेखि तेह्रथुमसम्मको लाइन काट्नुपर्ने हुन्छ । ३३ केभीकै लाइनबाट चौबीसै घन्टा बिजुली पाएका अन्य चार उद्योगमा भने प्राधिकरणले चाहेमा लाइन काट्न सक्छ । लोडसेडिङ गर्नै नसकिने गरी बिजुली वितरण गरिनु गैरकानुनी हो । ग्रामिण क्षेत्रमा प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरिएजस्तै यी ११ उद्योगले ३३ केभी लाइनमा हुकिङ गरेर बिजुली लगेका छन् । लाइन काट्न नसकिने गरी बिजुली पाउने उद्योगमा बाबा जुटमिल, धनलक्ष्मी सिन्थेटिक, मारुती सिमेन्ट, निगाले सिमेन्ट धनकुटा, रिलायन्स स्पिनिङ मिल्स, अरिहन्त मल्टिफाइबर, अरिहन्त सिनप्याक, एसियन थाई फुड, पशुपति सिनप्याक, मैनावत्ती स्टिल र कमला रोलिङ मिल्स छन् । यी उद्योगमा लाइन काट्दा इटहरी, धरान र धनकुटा हुँदै तेह्रथुमसम्म बत्ती निभ्ने अन्नपूर्ण पोष्टमा खबर छ ।
प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले ती हुकिङ गरिएका उद्योगमा लाईन काट्न गाह्रो रहेको बताए । ‘त्यहाँ तालिकाअनुसार लोडसेडिङ गर्न प्राविधिक हिसाबले कठिन छ,’ यादबले भने, ‘ब्रेकरबाट काट्न मिल्दैन, ३३ केभीलाइन नै काट्नुपर्छ यसो गर्दा धरान र धनकुटा पनि काटिन्छ ।