नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापाको नेतृत्वमा मैदानमा उत्रिएको हङकङ नेपाली महासंघले १५ औं बुढासुब्बा गोल्डकप फुटवलको उपाधि हात पारेको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले हराउँदै पाहुना टोली हङकङले बुढासुब्बा गोल्डकपको उपाधिसँगै ३ लाख ७५ हजार रुपैयाँ हात पारेको हो।
आर्मीले पहिलो हाफको छैटौं मिनेटमै राजु तामाङको पासमा डि बक्सबाट टेकबहादुर बुढाथोकीको गोल गर्दै खेलमा अग्रता लिएको थियो । तर, १७ औं मिनेटमा जगजीत श्रेष्ठको पासमा हङकङका केल्भिनले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए । आर्मीका गोलकिपर अघि बढेको मौकामा केल्भिनले विट गर्दै सजिलै जाली चुमाए । यस्तै, दोस्रो हाफको ३४ औं मिनेटमा जगजीत श्रेष्ठको पासमा डोडोजले हेडमार्फत हङकङको लागि निर्णायक गोल गरे । डोडोजको हेड प्रहार आर्मीको गोलपिकरको हातबाट फुत्किएर दोस्रो बारमा ठोक्किदै गोल भएको थियो ।
दोस्रो हाफको १२ औं मिनेटमा आर्मीका राजु तामाङ पेनाल्टीमा गोल गर्न चुकेपछि दोस्रो पटक उपाधि नजिक पुगेको आर्मी पुनः फाइनलमा पराजित हुदै उपाधिको खडेरीलाई टार्न सकेन ।
अघिल्लो सँस्करणमा सेमीफाइनलमा रोकिएको पाहुना टोली हङकङले बुढासुब्बामा दोस्रो सहभागीतामा च्यान्पियन हुदै नयाँ विजेताको इतिहास समेत बनाएको छ ।
बर्ष २०६५मा बुटवलको तिलोत्तमा गोल्डकपको उपाधि जिते यता आर्मीले कुनै पनि ठुलो प्रतियोगिता जित्न सकेको छैन । यसपटक बुढासुब्बाको फाइनल जितेर उपाधिको खडेरी टार्दै यो सिजनलाई सुखद अन्त्य गर्ने सोच बनाएको आर्मी फेरि निराश बन्यो ।
हङकङका प्रशिक्षक आङ टेण्डी शेर्पाले फाइनल खेल सोचेजस्तै भएकोले जित हात परेको बताए । ‘बिषेश गरि डोडोज, जगजीत र टिटाबीच राम्रो तालमेल भयो, धराने समर्थकहरुको साथले पनि हौसला बढायो’–उनले भने । आर्मीका प्रशिक्षक साइला महर्जनले खेल बराबरीको अवस्थामा पेनाल्टी मिस हुनु नै खेलको टर्निङ प्वाइन्ट बनेको बताए । ‘खेल फिफ्टी फिफ्टीकै थियो, तर पेनाल्टी मिस हुनु नै दुर्भाग्य बन्यो’–मर्हजनले भने । दुवै गोल गोलकिपरको गल्तीले भएको उनले बताए ।
च्याम्पियन बनेको हङकङले ट्रफीसँगै नगद ३ लाख २५ हजार हात पार्यो भने उपविजेता आर्मीले भने १ लाख ६२ हजार ५ सयमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुदै आयोजक धरान फुटबल क्लबका प्रकाश बुढाथोकीले यामाहा मोटरसाइकलको साथमा सनराइज बैंककोले नगद १५ हजार रुपैयाँ पनि दिएको थियो ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट फिडेन्डर घोषित हुदै हङकङका कप्तान सागर थापाले नगद १० हजार थापे । उनी फाइनल खेलको म्यान अफ दि म्याच पनि घोषित हुदै थप ५ हजार हात पारे । यसैगरी, हङकङकै गोलकिपर विकास कुथु उत्कृष्ट गोलपिकर, जगजीत श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, वेष्ट स्टाइकर डुडोज लिओन्स र वेष्ट कोच नारद राई घोषित भए । सबैले नगद १० हजार थापे । आर्मीका टेकबहादुर बुढाथोकीले हाई स्कोरको पुरस्कार स्वरुप नगद २० हजार थापे । विजेता, उपविजेता टिम एवं खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष किसोर राई, एन्फा अध्यक्ष गणेश थापा, केन्द्रीय सदस्य वसन्त अर्याल, क्षेत्रीय अध्यक्ष सन्तोष बाँनिया, कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी यादवराज खनाललगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताका उत्कृष्ट
उत्कृष्ट खेलाडी : प्रकाश बुढाथोकी–धरान फुटबल क्लब)
उत्कृष्ट फिडेन्डर : सागर थापा(हङकङ नेपाली महासंघ) ।
फाइनलका म्यान अफ दि म्याच : सागर थापा(हङकङ नेपाली महासंघ) ।
उत्कृष्ट गोलकिपर : विकास कुथु(हङकङ नेपाली महासंघ) ।
उत्कृष्ट डिफेन्डर : जगजीत श्रेष्ठ(हङकङ नेपाली महासंघ) ।
उत्कृष्ट स्टाइकर : डुडोज लिओन्स( हङकङ नेपाली महासंघ) ।
उत्कृष्ट प्रशिक्षक : नारद राई(हङकङ नेपाली महासंघ) ।
सर्वाधिक गोलकर्ता : टेकबहादुर बुढाथोकी( त्रिभुवन आर्मी क्लब, ३ गोल) ।