धनगढी, २८ चैत– कैलालीमा नेकपा–माओवादीका कार्यकर्ताले बुधबार एकजनाको जग्गा र घर कब्जा गरेका छन् । उनीहरूले गरिब निमुखा जनतालाई शोषण गरेको भन्दै लालबोझी गाविस–२ का नवराजबहादुर सिंहको २२ विघा जमिन र १ पक्की घर कब्जामा लिएका हुन् । सिंह पूर्वडिएसपी हुन् ।
माओवादीले सिंहको सशस्त्र द्धन्द्धका बेला कब्जा गरेको घरजग्गा शान्ति प्रक्रियापछि फिर्ता गरेको थियो । फिर्ता गरेको जग्गालाई माओवादीले पुनः कब्जा गर्न थालेपछि सर्वसाधारणमा त्रास छाएको छ । एमाओवादीले गरिब, निमुखा जनता र सहिद तथा बेपत्ताको अपमान गरी पुँजीपति वर्गको पक्षपोषण गरेको आरोप लगाउँदै पुनः घरजग्गा कब्जाको अभियान थालेको कैलाली एरिया नम्बर १० का इन्चार्ज शेरबहादुर देउवाले बताए ।
देउवाको नेतृत्वमा गएको टोलीले सिंहको जग्गा कब्जा गरी झन्डा गाडेको स्थानीयले बताए । कब्जा गरेको जमिन खान, लगाउन नपुग्ने गरिबलाई दिने देउवाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले माओवादी कार्यकर्ताले पार्टीको झन्डा गाडेर घरजग्गा कब्जा गरेको प्रारम्भिक खबर आए पनि विस्तृत बुझ्न बाँकी रहेको जनाएको छ ।