सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले कांग्रेस र एमालेको मतियार बन्दै विजयकुमार गच्छेदार र महन्थ ठाकुर मधेस विरोधी भएको आरोप लगाएका छन् । गएको जेठमा यी २ नेताले कांग्रेस एमालेसँग मिलेर मधेसलाई पाँच प्रदेश बनाउन षडयन्त्र गरेकाले संविधान आउन नसकेको उनले बताए ।
जनकपुरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष महतोले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदार र तमलोपा अध्यक्ष ठाकुर जस्ता मधेशविरोधी नेता आउँदो संविधानसभा चुनावमा बढारिने दाबी गरे ।
'मधेसी दलहरु नै मधेशलाई टुक्रा पार्ने षडयन्त्रमा लागे,' उनले भने, 'माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मधेशले चाहे अनुसारको संघीयता दिलाउन हामीले सहमत गराएका थियौं ।' तैपनि मधेशलाई टुक्रा पार्ने षडयन्त्र यथावतै रहेकाले संविधान नबनेको उनले जिकीर गरे ।
कांग्रेस एमाले जन्मजातै संघीयता विरोधी भएको समेत अध्यक्ष महतोले आरोप लगाए । अब हुने भनिएको चुनाव असारमा हुन नसके मंसिरमा हुनेसमेत उनले बताए । 'देशमा कावु भन्दा बाहिरको परिस्थित आए मात्रै असारमा चुनाव हुन सक्दैन,' उनले भने, 'यदि असारमा नभए मंसिरमा चुनाव गर्ने सहमति दलहरुबीच भइसकेको छ ।' यसपटकको चुनावमा जनताले व्यक्तिभन्दा र्पाटीलाइृ खसाल्ने भन्दै आफ्नो पार्टी बलियो बनाउने तर्फ लागेको उनले बताए ।