काठमाडौं, चैत २७ (सेतोपाटी)– माओवादी कार्यकर्ताहरूले अवरोध पुर्याउँदै आएको ‘अकुपाई बालुवाटार’ आन्दोलनमाथि सरकार आफैं खनिन थालेको छ ।
प्रहरीले आज मंगलबार फेरि शान्तिपूर्ण नागरिक अभियान ‘अकुपाई बालुवाटार’ मा अवरोध खडा गर्दै अभियन्ताहरूलाई पक्राउ गरेको छ । महिलाविरुद्धको हिंसा र दण्डहीनताको विरोधमा जारी यस आन्दोलनको १ सय ३ औं दिन मंगलबार प्रहरीले करिब १२ जना अभियन्तालाई बालुवाटारबाट समातेको हो ।
खिलराज रेग्मीको मन्त्रिपरिषद् गठनलगत्तै अकुपाई बालुवाटार अभियानलाई सडकपेटीमा सीमित गरेर अवरोध पुर्याउन खोजिएको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका छन् । प्रहरी धरपकड सुरु भएको पनि त्यही बेलादेखि हो ।
पक्राउ पर्नेमा जगन्नाथ लामिछाने, विदुषी ढुंगेल, ईशान अधिकारी, कुन्दन काफ्ले, उज्वल थापा लगायत छन् । एक वर्षदेखि हराएकी आमा छोरीमाया महर्जनको खोजबीन निम्ति दबाब दिन आएका उनका छोरीहरू पनि पक्राउ परेका छन् । उनका छोरीहरू वर्षदिनदेखि प्रहरी चौकी धाउँदा पनि खोजबिनमा सक्रियता बढेन । उनीहरू प्रहरी–प्रशासनलाई दबाब दिन अकुपाई बालुवाटारमा सामेल भएका हुन् ।
प्रहरीले सडकपेटीबाट बाहिर निस्केको भन्दै उनीहरूलाई समातेको हो । यसअघि सडकमै आवागमनमा बाधा नपुग्नेगरी निश्चित ठाउँ ओगटेर बस्ने गरिएको थियो । पक्राउ गरिएकाहरूलाई कमलपोखरी चौकीमा लगेर राखिएको छ । यसअघि अभियानको १ सय १ औं दिन आइतबार पनि ईशान अधिकारी पक्राउ परेका थिए ।