काठमाडौं, चैत २६ (सेतोपाटी)– सरकारले मंगलबार ४ खर्बभन्दा बढीको बजेट अध्यादेश ल्याउने तयारी गरेको छ । बजेटलाई अन्तिम रूप दिन अर्थमन्त्री शंकर कोइराला, सचिव शान्तराज सुवेदीसहित कर्मचारीहरू अर्थ मन्त्रालयमै बास बस्नेगरी काममा जुटिरहेका छन् ।
स्रोतका अनुसार सरकारले आर्थिक वर्ष २०६९÷७० का लागि ४ खर्बभन्दा धेरैको पूर्ण बजेट ल्याउँदैछ । यसअघि बाबुराम सरकारले दुई खेपमा एकतिहाइ र दुईतिहाइ पूरक बजेट ल्याएको थियो ।
अर्थ स्रोतका अनुसार बजेटमा खासै महत्वाकांक्षी कार्यक्रमहरू समावेश गरिएको छैन । ‘निर्वाचन, कर्मचारीको तलब÷भत्ता र राष्ट्रिय प्राथमिकताका कार्यक्रममा केही रकम थप्नुपरेकाले पोहोरभन्दा ५० देखि ५५ अर्ब रुपैयाँ बढीको बजेट आउन लागेको हो,’ स्रोतले भन्यो ।
निर्वाचन आयोगले संविधानसभा चुनावका लागि ७ खर्ब रुपैयाँ माग गरेको छ । कर्मचारीको तलब, भत्ता र ग्रेडबापत १० अर्ब रुपैयाँ बढी लाग्ने हिसाब गरिएको छ । राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना तथा पहिलो प्राथमिकतामा परेका कार्यक्रममा सरकारले केही लगानी बढाउन लागेको छ ।
तीन महिनाको लागि सरकारले पूर्ण बजेट जारी गर्न लागेको हो । यो बजेटको तयारी सकिनेबित्तिकै अर्थ मन्त्रालयलाई आर्थिक वर्ष २०७०÷७१ को चटारो सुरु हुनेछ ।