जनकपुर, चैत २७– एनेकपा माओवादीले एमालेबाट केही दिनअघि पार्टी प्रवेश गरेका रामचन्द्र झा र पार्टीकै मधेसका प्रभावशाली नेता प्रभु साहलाई पार्टीको स्थायी समितिमा ल्याउने आश्वासन दिएको छ । झालाई स्थायी समितिमा ल्याउने आश्वासनका साथ पार्टीमा भित्र्याएपछि असन्तुष्ट बनेका मधेसका माओवादी कार्यकर्तालाई आश्वस्त पार्न साहलाई पनि स्थायी समितिमा ल्याउने वचन दिइएको हो ।
मधेसका माओवादी नेता साहले सेतोपाटीसँग कुरा गर्दै झालाई पार्टीमा ल्याउनु आफैंमा नराम्रो नभए पनि जनयुद्ध लडेर, बाधाअवरोध सामना गर्दै पार्टीका लागि संघर्ष गरेकालाई अन्याय गर्न नहुने बताए । उनले भने, ‘बाहिरबाट मान्छे ल्याएर उच्च स्थान दिँदा असन्तुष्टि र निराशा उत्पन्न हुन्छ, पार्टीभित्रकै नेताहरू पनि मधेशमा प्रभावशाली रहेकाले उनीहरूलाई बढुवाको बाटो खोल्नु आवश्यक छ ।’
झा पार्टीमा आएपछि निष्क्रिय भएको र पार्टी छाड्नेसम्म मनस्थितिमा पुगेको जिज्ञासामा साहले भने, ‘म पार्टी छाडेर जान्नँ, एनेकपा माओवादीमै बसेर काम गर्छु, पार्टीले हामीलाई न्याय गर्छ भन्नेमा मलाई विश्वास छ ।’
साहनिकट कार्यकर्ताका अनुसार उनलाई पार्टी नेतृत्वले झासमान स्थायी समितिमा ल्याउने आश्वासन दिइसकेको छ । साह नेतृत्वको आश्वासन कार्यान्वयन हुने पर्खाइमा छन् ।
संविधानसभा चुनावमा रौतहटबाट प्रत्यक्ष निर्वाचित साह बाबुराम भट्टराई निकट छन् । उनको निर्देशनमा विश्व हिन्दू युवा परिषद्का अध्यक्ष काशीराम तिवारीको हत्या गरिएको आरोपमा पर्सा प्रहरीले वारेन्ट काटेपछि साहले बाध्य भएर कानुनमन्त्रीबाट राजिनामा गरेका थिए ।
केही समयअघि पुनगर्ठित एनेकपा माओवादीको २ सय ३८ सदस्यीय केन्द्रीय समितिमा १० प्रतिशतमात्र मधेशी समेटिनुले पार्टी समावेशी हुन नसकेको प्रष्ट भएको साह बताउँछन् । ‘मधेसलाई मिलाएर कसरी लाने भन्ने चुनौत पार्टीसँग छ,’ उनले सेतोपाटीसँग भने ।
प्रकाशित मिति: 2013-04-08 21:03:53