पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बयरवन–६ का दिनेश घिमिरेलाई प्रहरीले पक्राउ गरको छ। बयरवन–७ बस्ने बस्नेत थरकी बालिकालाई बुधबार साँझ बलात्कार गरेको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो।
बलात्कृत बालिकालाई कोसी अञ्चल अस्पतालमा उपचारपछि बिहीबार विहान घर लगिएको छ। आफन्तका अनुसार बालिकाको यौनांग सुन्निएको छ। डाक्टरले औषधी खाए ठिक हुने सल्लाह दिएपछि आफन्तले बालिकालाई घर लगेका हुन्।
कोही नभएको मौका छोपेर बुधबार साँझ पाँच बजे १६ वर्षीय घिमिरेले घरबाट केही पर परालको माचमा लगेर बलात्कार गरेको आफन्तले बताए। बालिकाका काका दानबहादुरका अनुसार बालिका चिच्याएर रोएपछि बलात्कार भएको थाहा भएको थियो।
बालिकाका बाबु ठमबहादुर मजदुरी गर्न गएका थिए भने आमा कल्पना बजार गएकी थिइन्। 'बच्चा चिच्याएर रोएपछि खोजी गर्दा बलात्कार भएको थाहा भयो,' दानबहादुरले भने, 'बालिकाको घरछेऊ खेतमा काम गर्न आएको बेला मौका छोपेको रहेछ।' जबरजस्ती करणी मुद्दामा घिमिरेमाथि अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता दीपक पोखरेलले बताए।