नेपाल विद्यार्थी सङ्घका विद्यार्थीले स्ववियु निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग गर्दै आजदेखि रिले अनशन सुरु गरेका छन।
लैनचौरस्थित सरस्वती क्याम्पस र बागबजारस्थित पद्मकन्या क्याम्पसमा अनशन थालिएको हो। सरस्वती क्याम्पसमा चन्द्र रोकाय तथा पद्मकन्या क्याम्पसमा शोभा भण्डारीको संयोजकत्वमा अनशन सुरु गरिएको हो। नेविसङ्घका प्रवक्ता युपी लामिछानेले निर्धारित समयमा स्ववियु निर्वाचन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिँदै निर्वाचनको वातावरण बनाउन आफूहरुले अन्य दबाबमूलक कार्यक्रम आयोजना गर्ने बताएका छन् ।
नेविसङ्घले पुतलीसडकस्थित शङ्करदेव क्याम्पस, चाबहिलस्थित पशुपति क्याम्पसलगायत अन्य क्याम्पसमा भने विरोध प्रदर्शन सुरु गरेको छ।
विभिन्न विद्यार्थी सङ्गठनबीच विद्यार्थी भर्नाको विषयमा अस्वस्थ्य चलखेल र अनेक आशङ्का तथा मतभेद कायम भएपछि अन्ततः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चितकालका लागि स्थगन भएको हो। त्रिविले निर्वाचनका लागि उपयुक्त वातावरण नभएको भन्दै निर्वाचन आज स्थगन गरेको थियो। यसअघि त्रिविले यही जेठ २३ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो। रासस