काठमाडौं, जेठ १६ (सेतोपाटी)- उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार साँझ बसेको बैठकले निर्वाचन अध्यादेशमा सुझाव दिन कार्यदल गठन गरेको छ ।
नयाँ बानेश्वरमा बिहीबार साँझ बसेको संयन्त्र बैठकले चार दलबाट दुई-दुई प्रतिनिधि रहेको कार्यदल बनाएको हो । कार्यदलमा एमाओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट रामशरण महत र मिनेन्द्र रिजाल, एमालेबाट रघुजी पन्त र अग्नि खरेल तथा मधेसी मोर्चाबाट हृदयेष त्रिपाठी र जितेन्द्र देव छन् ।
संयन्त्र संयोजक एमाले अध्यक्ष झलनाथ खनालले अध्यादेशमा टुङ्गो लागेपछिमात्र सरकारले चुनावको मिति घोषणा गर्ने जानकारी दिए । 'निर्वाचनसम्बन्धी अध्यादेशको टुङ्गो लागेपछि सरकारले चुनावको मिति घोषणा गर्छ,' उनले बैठकस्थलबाट बाहिरिँदै भने ।
थ्रेसहोल्ड, फौजदारी अभियोग लागेका व्यक्तिको उम्मेदवारी र सम्पत्ति घोषणालगायत विषयमा दलहरुबीच विवाद छ । संविधानसभा सदस्य संख्या कति गर्ने भन्नेबारे विवाद छ । एमाओवादी र मधेसी मोर्चाले पुरानै संख्या ६०१ कायम गर्नुपर्ने बताउँदै आएका छन् भने कांग्रेस-एमालेले ४ सय ९१ प्रस्ताव गरेका छन् ।
कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि यसअघि तीनपटक संयन्त्र बैठक स्थगित भएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रको अर्को बैठक जेठ २० गते तय भएको छ ।
उच्चस्तरीय राजनीतिक समितिले स्ववियु चुनाव स्थगित भएकोमा पनि चासो लिएको छ । तोकिएकै मितिमा चुनाव गराउनुपर्नेमा समिति एकमत भएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
'अकस्मात् स्ववियु चुनाव स्थगित गरिएको सूचना पाइयो, यो हामीलाई ठीक लागेन,' सिटौलाले भने, 'चुनाव गराउन समस्या कहाँ छन्, समधान गर्नुपर्छ ।' उनले तोकिएकै मितिमा चुनाव गराउन त्रिविलाई आग्रह गर्ने निर्णय भएको बताए ।