चीनले तिब्बत आउने पर्यटकलाई सुविधा दिन विशेष रेलसेवा सञ्चालन गर्ने भएको छ । हङकङ, बेइजिङ हुँदै तिब्बत आउने तेस्रो मुलुकका पर्यटक ह्वात्तै बढेपछि एक चिनियाँ कम्पनीले जुन १ बाट साढे चार महिना विशेष सेवा सञ्चालन गर्न लागेको हो ।
विश्व पर्यटक आकर्षित गर्न भन्दै रेलसेवाको नाम सर्वाेच्च शिखर सगरमाथाको नामबाट ‘एभेरस्ट’ राखिएको छ ।
तिब्बत रेलमार्ग ल्हासाबाट सगरमाथाको उत्तरफेदी नजिकैको सहर सिगात्से जोडिनै लागेका बेला सगरमाथासँग नाम जोडेर थप पर्यटक आकर्षित गर्ने योजना ल्याइएको आजको नागरिकमा खबर छ ।
चीनको रेललाई तिब्बतसँग जोड्ने चिङहाई–तिब्बत रेलवे कम्पनीले पर्यटकीय मौसमभर योे सेवा सञ्चालन गर्नेछ । तिब्बत जाने चिनियाँ र विदेशी पर्यटकको संख्या निकै बढेको जनाउँदै कम्पनीले सिनिङबाट तिब्बतको ल्हासा जान हरेक चार दिनमा एकपटक एभरेस्ट रेल सञ्चालन हुने जनाएको छ । कम्पनीका अनुसार शनिबार सुरु हुने विशेष रेलका सबै ७ सय टिकट बिक्री भइसकेको छ ।
अक्सिजनजडित आरामदायी यो रेलसेवामा व्यावसायिक चिकित्सक र पथप्रदर्शक पनि रहनेछन् । ५ हजार ६८ मिटर उचाइबाट दौडने विश्वकै अग्लो भूभागको तिब्बत रेलमा पहिलेदेखि नै अक्सिजन र चिकित्सक व्यवस्था छ । सगरमाथाको नाम जोडेर विशेष रेल सञ्चालन गरी तिब्बत रेलमार्गलाई पर्यटन र व्यापार विस्तारको मुख्य आधार बनाउन भने पहिलोपटक यस्तो योजना ल्याइएको हो ।
तिब्बतस्थित महावाणिज्यदूत हरि बस्यालका अनुसार पर्यटक आकर्षित गर्न तिब्बतले ल्याएको विशेष योजना नेपालका लागि पनि फाइदाजनक छ । सिनिङबाट ल्हासा हुँदै सिगात्सेसम्म रेलमा गएपछि त्यहाँबाट सगरमाथा बेसक्याम्प पुग्न २ सय ५० किलोमिटरमात्र मोटरबाट यात्रा गर्नुपर्छ । तिब्बतमा पर्यटक बढ्दा सिगात्सेको टिङ्ग्रीबाट तीन घन्टा मोटरबाटोबाट तातोपानी हुँदै नेपाल छिर्ने पर्यटकको संख्या पनि बढ्ने बस्यालको आँकडा छ । गत वर्ष यही बाटो भएर २१ हजार चिनियाँ र विदेशी पर्यटक नेपाल गएका थिए ।
‘तिब्बतमा पर्यटक बढ्ने भएकाले एभरेस्ट विशेष रेल योजना हाम्रालागि पनि खुसीको कुरा हो,’ यस वर्ष तिब्बतले एक करोड २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको जनाउँदै बस्यालले भने, ‘त्यसको २ प्रतिशत मात्र नेपाल गए पनि अहिलेलाई हाम्रा लागि प्रशस्त हुन्छ ।’
गत वर्ष एक करोड १० लाख पर्यटक भिœयाएर २.१ अर्ब अमेरिकी डलर राजस्व उठाएको तिब्बतले अझ वृद्धि गर्न यस्तो योजना ल्याएको हो । तिब्बत स्वायत्त प्रदेशका सरकारप्रमुख लोसाङ जामकनले डेढ महिनाअघि बेइजिङमा राष्ट्रिय जनकंग्रेस बैठकमा बोल्दै २०१४ को सुरुबाट ल्हासा–सिगात्से रेलमार्ग सञ्चालनमा आएपछि पर्यटन र व्यापार थप विस्तार हुने र २०१५ सम्म २ करोड पर्यटकलाई तिब्बत पु¥याउने महŒवाकांक्षी योजना सुनाएका थिए । तीव्र पूर्वाधार विकासले पर्यटन तिब्बतको आर्थिक वृद्धिको मुख्य आधार बनेको छ ।