सरकारविरुद्ध आन्दोलनरत ३३ दलीय गठबन्धनले यही जेठ १ गतेदेखि सुरु गरेको 'मेची–काली राष्ट्रिय स्वाधीनता अभियान' आज समापन गरेको छ।
पश्चिममा कञ्चनपुरको गड्डाचौकीमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले र पूर्वमा माओवादी उपाध्यक्ष सिपी गजुरेलले झापाको मेची पुलबाट अभियानको सुरुआत गरेकामा अभियानका दुवै टोली आज काठमाडौँ आइपुगेपछि सहिदमञ्चमा समापनसभा गरिएको हो। सभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताको रक्षार्थ सुरु गरिएको करिब हजार किलोमिटर यात्राबाट नयाँ संश्लेषण निकालिएको बताउँदै अभियानले जनतामा जागरण ल्याउन मद्दत पुर्याएको विचार व्यक्त गरे ।
उनले एकीकृत नेकपा–माओवादीसँग आफ्नो पार्टीको कार्यगत एकता हुँदैछ, आफ्नो पार्टी उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहभागी हुँदैछ भनी निराधार हल्ला चलाइएको स्पष्ट पारे । उनले भने –“ ३३ दलीय गठबन्धनबाट आतङ्कित भएर मोर्चालाई ध्वस्त पार्न र जनतामा भ्रम छर्न एमाओवादीसँग हाम्रो पार्टीको कार्यगत एकता हुँदैछ भनेर हल्ला मच्चाइएको छ, त्यस्ता भ्रमलाई चिर्दै हामी अझ एकताबद्ध भएर आन्दोलनलाई उचाइमा पुर्याउँछौं। ”
नेकपा (माओवादी) का संयोजक मातृका यादवले मन्त्रिपरिषद्का अध्यक्षमाथि सबोच्चमा परेको रिट सरेको सरै हुनाले न्यायपालिकाको प्रभाव परेको स्पष्ट रूपमै देखिएको टिप्पणी गरे ।
नेकपा (एकीकृत) का महासचिव परी थापाले 'संविधानसभा विघटनको मुख्य कारक रहेको व्यक्तिलाई' नै कार्यपालिका प्रमुख बनाएर चार शक्तिले पुरस्कृत गरेको आरोप लगाए ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले गत चैत १ गतेको २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे सहमति खारेज नभएसम्म ३३ दलले आफ्नो आन्दोलनलाई जारी राख्नुपर्नेमा जोड दिँदै त्यो खारेज गराउन नागरिक समाज पनि आन्दोलनमा उत्रने बताए ।
कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुसाल, सङ्घीय लिम्बूवान मञ्चका महासचिव खगेन्द्र माथेम, नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदी, नेकपा(संयुक्त मार्क्सवादी) का अध्यक्ष प्रकाश अधिकारीलगायतले चैत १ गतेको कदम खारेज नभएसम्म आफूहरू निर्वाचनमा सहभागी नहुने र निर्वाचन आयोगमा दल दर्ता पनि नगर्ने घोषणा गरेका थिए । रासस