मेसीलाई तुरुन्त अनुबन्धित गर्न बार्सिलोनालाई नेइमारको आग्रह

मेसीलाई तुरुन्त अनुबन्धित गर्न बार्सिलोनालाई नेइमारको आग्रह




ब्राजिलका स्टार स्ट्राइकर नेइमारले अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको अनुबन्ध सम्झौताको विवाद सल्टाउन बार्सिलोना क्लबसँग आग्रह गरेका छन्। मेसीले यो सिजन क्याम्प नोउका लागि ५१ गेल गरिसकेका छन्। र गत साता उनका लागि क्लबले राखेको वार्षिक ३ अर्ब ८८ करोड रुपैयाँको प्रस्ताव मेसीले अस्वीकार गरेका थिए।

२९ वर्षीय मेसीको अनुबन्ध बार्सिलोनासँग २०१८ को अन्त्यमा समाप्त हुँदैछ। नियमअनुसार क्लबले यही वर्षको मध्यमा अर्को अनुबन्धमा नवीकरण गरिसक्नु पर्नेछ। नेइमारले नवीकरणको विवादलाई तुरुन्त सुल्झाउन क्लबसँग अनुरोध गर्दै ‘बिइङ स्पोर्ट्स’सँग भने–‘म विगत ४ वर्षदेखि लिओसँग यहाँ छु।

हरेक दिन म उनीसँग केही न केही सिकिरहेको छु, बललाई कसरी प्रहार गर्ने र खेलको दौरान कतिबेला तयारीमा बस्ने भनेर। मेसी अर्कै ग्रहबाट आएका हुन्।’

उनले मेसी आफ्नो आर्दशका साथै मिल्ने साथी भएको र उनीसँग सधै अभ्यास गर्न पाउनु आफ्नो भाग्य भएको बताए। ‘म विश्वस्त छु, उनको नवीकरण हुन्छ होला। उनलाई हामीसँगै राख्न क्लबका मानिसहरु प्रयासरत होलान्।’

नेइमारले गत अक्टुवरमा क्लबसँग लामो सम्झौता नवीकरण गरिसकेका छन्। तर, उनलाई पनि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले पछ्याइरहेको खबर आइरहेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.