गोर्खाली रग्बी क्लब पाँचौ संस्करणको फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०२५ को विजेता बन्न सफल भएको छ।
मंगलबार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५–० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो। जितसंगै गोर्खालीले लिगको तीनवटै खेल जित्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो।
त्यसैगरी मंगलबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई एक संघर्षपूर्ण खेलमा १९–७ ले पराजित गर्दै उपविजेता बन्न सफल भयो। गत वर्षको उपविजेता एपीएफ भने तेस्रो स्थानमा सीमित भयो। नेपाल पुलिस क्लबले भने प्रतियोगितामा अंक वटुल्न सकेन।
प्रतियोगिताका विजेता खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी सदस्य कमलबहादुर भट्टराई, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेले पुरस्कार वितरण गर्नुभयो।
विजेता गोर्खाली रग्बीले नगद रु २ लाख २२ हजार २ सय २२ रुपैंया प्राप्त गरे भने उपविजेता एपीएफले १ लाख ११ हजार १ सय ११ रुपैंया हात पार्यो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी गोर्खाली रग्बी क्लबका विजय खड्का घोषित भए। उनले रु १५ हजार प्राप्त गरे।
प्रतियोगिताको कठिन मानिएको दुई खेलमा एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरिसकेको गोर्खाली रग्बी क्लबका लागि मंगलवारको खेल तुलनात्मक रुपमा सहज बन्न पुग्यो। एकपक्षिय खेलमा गोर्खालीले पहिलो हाफमा ४०–० को अग्रता लिइसकेको थियो।
गोर्खालीले पहिलो सेटमै वैकल्पिक खेलाडी राखेर मैदानमा उत्रिएको थियो। पहिलो पटक फिफ्टिन्स खेलिरहेको नेपाल पुलिस क्लबसंगको खेल सहज हुने अनुमान गरिए जस्तै नै खेलमा गोर्खाली शुरुआत देखि नै हावी हुन पुग्यो। दोस्रो हाफमा भने टोलीले १५ अंक थपेको थियो।
नेपाल प्रहरीले कुनै स्कोर जोड्न सकेन।
त्रिभुवन आर्मी र एपीएफ विचको खेल भने निकै प्रतिस्पर्धात्मक बनेको थियो। एपीएफले शुरुआतमा एक ट्राई र कन्भर्जनलाई सफल पारेर ७ अंक जोडेको थियो। सेनाले ५ अंक जोडेपछि पहिलो हाफ ७–५ को प्रतिस्पर्धात्मक स्थितिमा पुगेको थियो।
तर दोस्रो हाफमा सेना खेलमा फर्कियो। दोस्रो हाफको शुरुआतमा लगातार ७ अंक जोडेपछि सेनाले खेलमा अग्रता बनायो र त्यसलाई अन्तिम समयसम्म कायम राख्यो। एपीएफले खेलमा फर्किने प्रयास सफल भएन। बरु खेल सकिनै लाग्दा सेनाले अर्को एउटा ट्राई गरेर खेल १९–७ ले जित्न सफल भयो।
नेपाल रग्बी संघको आयोजनामा राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको खेलमा ३ विभागिय र गोर्खाली रग्बी गरी चार टोलीको सहभागिता रहेको थियो। यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बंगलादेश विच काठमाडौंमा हुने फिफ्टिन्स रग्बी श्रृंखलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी संघले जनाएको छ।