नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा भएको रन फर प्रोटिन हाफ म्याराथन महिलातर्फ सन्तोषी श्रेष्ठले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय कीर्तीमान कायम गर्दै स्वर्ण जितेकी छिन्।
शनिबार भएको हाफ म्याराथन पुरुषतर्फ बागलुङका तीर्थ पुनले दौड १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरे।
१० किमी खुल्ला दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३० मिनेट, ५९ सकेन्डमा दौड पुरा गरेका थिए भने ५ किमि (महिला खुल्ला) दौड नेपाल पुलिस क्लबकी राजपुरा पछाईले २२ मिनेट ४१ सेकेन्ड मा पूरा गरी प्रथम स्थान हासिल गरिन्।
पाँच किलोमिटर पुरुष स्कूल विद्यार्थीमा प्रकाश कठायतले २१ मिनेटमा दौड सम्पन्न गरी प्रथम भए भने तीन किलोमिटर महिला स्कूल विद्यार्थीमा बन्दना बुढाले १७ मिनेट ३१ सेकेन्डमा दौड सम्पन्न गरी प्रथम स्थान हासिल गरिन्। ह्विल चेयर तर्फ प्रेम बहादुर विकले प्रथम स्थान हासिल गरेका थिए।
हाफ म्याराथन, १० किमि खुल्ला, ५ किमि महिला, ५ किमि पुरुष स्कुल विद्यार्थी, ३ किमि महिला स्कुल विद्यार्थी र ह्विल चेयर विधामा प्रथम हुनेले क्रमश एक लाख, पचास हजार, तीस हजार, तीस हजार, तीस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रत्येक विधाका उत्कृष्ट ५ जना गरी ३५ जना विजेता धावकलाई कुल करबाहेक दश लाख पचास हजार रुपैया बराबरको नगद पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
प्रतियोगिताको शुभारम्भ दशरथ रंगशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज गरेका थिए। पुरस्कार तथा प्रमाणपत्र वितरण उपराष्ट्रपति नन् बहादुर पुनले गरका थिए।
नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिनको महत्व र प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफम्याराथन सहित विभिन्न ७ विधाका दौड प्रतियोगिता आयोजना गरेको हो। दौड प्रतियोगितामा विभिन्न विधामा गरी करिब २१०० जना सहभागी थिए।
दौड प्रतियोगितालाई नेपाल एथलेटिक्स एशोसिएसनले मान्यता दिईप्राविधिक सहयोग गरेको थियो भने पुरस्कार वितरण समारोह नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा सितलकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।