गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथन मध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन्।
सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन्। प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन्।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे।
टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।
यसैबीच नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि पार्की र श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गर्यो।
सदस्य–सचिव सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलागयतले उनीहरुलाई बिदाइ गरे।
त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनो स्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो। श्रेष्ठलाई टिसर्ट प्रदान गरियो।