रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको स्ट्यान्डर्ड स्पोर्ट्स पार्क बन्ने भएको छ।
५० देखि ६० हजार दर्शक अटाउन सक्ने अन्तर्राष्ट्रियस्तरको स्पोर्ट्स पार्कको विस्तृत गुरुयोजना बनाउने तयारी भएको छ।
नेपालमै पहिलो र नमूनाका रुपमा लिइएको उक्त स्पोर्ट्स पार्कको डिपिआर रिपोर्ट बिहीबार सार्वजनिक गरिएको छ। उक्त स्पोर्ट्स पार्क निर्माण सम्पन्नपछि रुपन्देहीको मात्र नभई नेपालकै खेलकुद पर्यटनको विकास हुने अपेक्षा गरिएको छ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को तिनाउ तटीय क्षेत्रमा निर्माण गरिने स्पोर्ट्स पार्क निर्माणका लागि १६ अर्ब रुपैयाँ लाग्ने बताइएको छ।
स्पोर्ट्स पार्कको गुरुयोजना सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निकै महत्वपूर्ण रहेको आयोजना सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउँदै त्यसको लागि बजेट व्यवस्थापनमा कमी हुन नदिने बताए।
अर्थमन्त्री पौडेलले बजेटको व्यवस्थापनका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने तर समयमै निर्माण सम्पन्न गर्नका लागि जुट्न सबैलाई आह्वान गरे।
६५ बिगाहा क्षेत्रफलमा निर्माण हुने स्पोर्ट्स पार्कमा आधुनिक र प्रविधियुक्त शैलीका कभर्ड हल र स्टेडियम निर्माण गरिने छ। स्पोर्ट्स पार्कमा साफमा खेलिने २८ प्रकारका खेलमध्ये गल्फ र बोटिङबाहेकका २६ प्रकारका खेल एकैसाथ खेल्न सकिने छ।
राति र दिउँसोमा जुनसुकै समयमा पनि खेल्न मिल्ने गरी निर्माण हुनथालेको स्पोर्ट्स पार्कमा फुटबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स, आटचरी, बास्केटवल, बक्सिङ साइक्लिङ, ड्राइभिङ, फिसिङ, फिल्ड हकी, भलिबल, जुडो, हेन्डबल, कपर्दी, कराँते खोखोलगायत खेल्न सकिने छ।
त्यस्तै, सटिङ स्वीमिङ, टेवलटेनिस, तेक्वान्डो, लन टेनिस, टेनिस, रेसलिङ, हुसु वेटलिफ्टिङ, टीटी लगायतका खेल खेल्न सकिने छ।
पार्कको गुरुयोजना क्राउन डिजाइन एण्ड रिचर्स सेन्टर ललितपुरले तयार गरेको ईन्जिनियर सुनिल लम्सालले बताए।
गुरुयोजना अनुसार १० वर्षमा निर्माण सम्पन्न गर्ने गरी तयार गरिएको स्पोर्ट्स पार्कमा २ सय महिला, ४ सय पुरुष गरी ६ सय विभिन्न खेलकुदका विद्यार्थीलाई आवासीय रुपमा राख्न सकिने ईन्जिनियर लम्सालले जानकारी दिए।