नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ।
प्रदेश संयोजक एवं केन्द्रीय सदस्य दीपक गुरुङले आगामी चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागिएको जानकारी गराए।
समग्र नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने संयोजक गुरुङले बताए।
करिब ९ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा विजयी शीर्ष तीन खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन्। यस्तै चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५-५ हजार प्राप्त गर्नेछन्।
म्याराथन काठमाडौं क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा आएर समापन हुनेछ।