राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत डा ज्ञानेन्द्रबिक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ्ग अर्गनाइनको बोर्ड सदस्यमा मनोनयन भएका छन्।
शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ वर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।
शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टीडोपिङ सम्वन्धि गतिबिधीहरूको अध्ययन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टीडोपिङ सम्वन्धि कार्यहरुको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ।
नेपालमा हाल सम्म पनि एन्टीडोपिङको कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटि मार्फत हुँदै आएको छ।
एन्टीडोपिङको संस्था संचालन गर्न निकै ठूलो धनराशी आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाई भईरहेको जनाईएको छ।
यस्तै शाह अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ कमिसनको सदस्यमा समेत मनोनित भएको डा. शाह जानकारी गराएका छन्।
महासंघले बिश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो। १८० भन्दा बढि राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो।
हाड तथा जोर्नी बिज्ञ डा. शाह ट्रमा सेन्टरमा समेत कार्यरत रहँदै आएका छन्।