बुटवलमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा कालिका मानवज्ञान मावि प्रथम भएको छ।
बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा गत फागुन ७ गतेदेखि दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता सुरू भएको थियो।
तीनदिनसम्म चलेको प्रतियोगितामा कुल १२ स्वर्ण, ५ कास्य र ४ रजतसहित २१ पटक जित्दै कालिका मानवज्ञान प्रथम भएको हो।
दोस्रो भएको नविन औद्योगिक माविले ४ स्वर्ण, ९ कास्य र ७ रजत पदक जितेको छ।
त्यस्तै, न्यु होराइजन मावि ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक जित्दै तेस्रो भयो भने कान्ति माविले ३ स्वर्ण, ४ कास्य र ४ रजत पदकसहित चौथौ स्थान हासिल गरेको छ।
बुटवल ११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना विद्यार्थीहरूले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए।
नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाका अनुसार प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डी, कराँते, तेक्वाण्डो लगायतका खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनोट गरी उत्कृष्ट खेलाडीहरूलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ सिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य प्रेम बहादुर बस्नेतले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई मेडल,सिल्ड र प्रमाणपत्र वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उपमहानगरको समृद्धिका लागि खेलकुद पनि एउटा आधार रहेकोले खेल पूर्वाधार विकास र खेलाडीलाई अवसरसहितको पहिचानका लागि विशेष कार्यक्रम बनाइएको बताए।