एपिएफ क्लबका दिपेश धामीले चितवनमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि उचाल्न सफल भएका छन्।
निकै नै प्रतिस्पर्धात्मक फाइनल खेलमा दिपेशले २१-१९, २२-२० को ले प्रिन्स दाहालाई पराजित गर्दै जितका साथ उपाधि उचालेका हुन्।
दिपेशले हालै सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृती र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा भएको हारमा मल्हम लगाएका छन्। उक्त प्रतियोगितामा धामी प्रिन्ससँग फाइनलमा पराजित भएका थिए।
महिला एकलको उपाधि जेशिका गुरुङ्गले उचालेकी छिन्। हालै पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा सेनाकी रशिला महर्जनलाई पराजित गर्दै उपाधी जितेकी उनले यस प्रतियोगितामा पनि रशिला माथि जित निकालिन्।
जेशिकाले जित निकाल्ने क्रममा २१-१८, १७-२१ र २१-१७ ले रशिलालाई पराजित गरिन्।
महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीहरुले नगद १ लाख १५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गरे।
राष्ट्रिय २० वरीयता भित्रका खेलाडीहरुको विच भएको पुरुष युगलतर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी विजयी भयो।
फाइनलमा नविन र रत्नको जोडीले एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१।११, २१।१५ ले पराजित गर्दै आफ्नो साख जोगाए।